अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

नेपालखोज २०८२ फागुन १६ गते १६:३६

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ सहयोगीनगरबाट नियन्त्रित लागूऔषध डाइजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, आइपिपिएल २२ एम्पुल र नगद ३० हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुङ्गल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–८ घर भएका ३१ वर्षीय इन्द्र तामाङ र काठमाडौं बिजुलीबजार बस्ने सुनसरी रामधुनी नगरपालिका–२ घर भएका ३७ वर्षीय सुरेन्द्र खवास रहेका छ्न् । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका–२ बालकुमारी मण्डीस्थित कुखुरा पसल संचालन गरी बस्ने झापा घर भएका ३७ वर्षीय टिकेन्द्र राजवंशीलाई अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–२ लायन्सचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८५ ग्राम ७ सय ५० मिलिग्राम सहित पर्सा वीरगंज महानगरपालिका–३२ बस्ने १६ वर्षीय किशोरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–१० थापा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–९ बस्ने २५ वर्षीय खगेन्द्र दयाल र डडेल्धुरा आलिताल गाउँपालिका–८ बस्ने २१ वर्षीय भरत बहादुर कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ५३१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिराहाको लहान नगरपालिका–११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ८० मिलिग्राम सहित सप्‍तरी सुरूङ्गा नगरपालिका–५ बनिगामा टोल बस्ने ३८ वर्षीय संतोष कुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले को.३७ प ६१५८ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० न्युरेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १२ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३७ वर्षीय सुशिल कुमार लामालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बझाङ छबिस पाथिभरा गाउँपालिका–७ बस्ने २२ वर्षीय अजित बोहरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३७९८ नम्बरको बसका सहचालक बोहरालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ नल्काघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ७० मिलिग्राम सहित घोडाघोडी नगरपालिका–१ बस्ने २९ वर्षीय किरण चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु
झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजंघा स्कुल नजिक सडकमा बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र प्र.१–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २५ वर्षीय बिशाल पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ । सिराहाको सिरहा नगरपालिका–१९ स्थित सडकमा स.७ प ४३५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री अर्नमा गाउँपालिका–५ रहडिया बस्ने ९५ वर्षीय कारी यादवको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबल अस्पाताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु
कौडेना गाउँपालिका–६ सर्कौल बस्ने दिलिप शर्माको छोरा २ वर्षीय आन्त शर्माको आफनै घर पछाडी पानी जमेको खाल्डोमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला
गोरखाको पालुङटार नगरपालिका–३ पाथीभरा बस्ने ३५ वर्षीय विक्रम नेपाली सोही ठाउँस्थित डुम्रेडाँडाबाट पाथीभरा जाने सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–४ कुचिङटार बस्ने ४० वर्षीया मनकला थेवे लिम्बु सोही ठाउँस्थित जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ खुटेनीस्थित वाणगंगा खोलाको किनारामा सोही नगरपालिका–५ नमुना टोल बस्ने ६० वर्षीय तारा बहादुर मगर शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–४ नाम्गेलस्थित उदयपुर घर भएका रूपनारायण तिमल्सिनाले संचालन गरेको लालीगुँरास च्याउ उद्योगमा शुक्रबार राति आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी काठमाडौंको कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी बस्ने दोलखा घर भएका मैया कार्कीको टहरामा शुक्रबार दिउँसो आगलागी हुँदा टहरा पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । बागलुङको बागलुङ नगरपालिका–४ गौरीधाम बस्ने ४८ वर्षीय टेक बहादुर विकको गोठमा गए राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । धादिङको थाक्रे गाउँपालिका–१ देवीथान बस्ने ढाल बहादुर तामाङको घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब ६ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथरको फिदिम नगरपालिका–१३ लुङरूपा बस्ने ३३ वर्षीय बिरेन्द्र नेम्बाङको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । झापाको कन्काई नगरपालिका–६ पारिजात मार्ग बस्ने ५० वर्षीय तेज बहादुर बस्नेतको गोठमा शनिबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
तारकेश्वर नगरपालिका–१० मनमैजु नापी कार्यालय नजिक डेरा गरी बस्ने संखुवासभा घर भएका ४८ वर्षीय पासाङ शेर्पा भोटेको कोठबाट सुनको औंठी १ थान, चाँदीको माला १ थान र नगद ७ लाख १९ हजार रूपैयाँ समेत गरी करिब १० लाख ८५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया