प्रतिनिधिसभा निर्वाचन : अत्यावश्यक सेवामा खटिनेका लागि पास वितरण

नेपालखोज २०८२ फागुन १६ गते २१:२८

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यक सेवामा खटिनेका लागि निर्वाचन आयोगले सवारी पास वितरण सुरु गरेको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँका कर्मचारीले संयुक्त रूपमा सवारी पास वितरण सुरु गरेका हुन् ।

शुक्रबारदेखि सुरु भएको सवारी पास वितरणमा अत्यावश्यक सेवामा खटिनेको लाम बढ्न थालेपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरबाट पनि थप जनशक्ति मगाउन लागिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए ।

आज र फागुन १८ गते फागु पूर्णिमा अर्थात् होलीको सार्वजनिक बिदामा पनि सवारी पास वितरण गरिने पनि उनले जानकारी दिए ।

आयोगमा शुक्रबारदेखि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रशासकीय अधिकृत र गृह मन्त्रालयका शाखा अधिकृतसहितको डेस्क (कक्ष) खडा गरिएको छ ।

सो डेस्कमा आयोगका तर्फबाट सहायक प्रवक्ता जिसीले संयोजन गरिरहनुभएको छ । आयोग र जिल्ला प्रशासनको समन्वयमा दोहोरो नपर्ने गरी पास वितरण भइरहेको छ ।

शुक्रबार पहिलो दिन ६० वटा पत्रबाट सवारी पास वितरण गरिएको छ । एउटा पत्रबाट अधिकतम पाँच वटासम्म पास वितरण गरिएको आयोगले जनाएको छ । -रासस

प्रतिक्रिया