प्रतिनिधिसभा सदस्य निर्वाचन : पर्यवेक्षणका लागि आएका ‘आईआरआई’का टोली आयोगमा

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्तद्वयसँग निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई) को प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
आयोगका कार्यालय बहादुर भवनमा आज एडवार्ड स्टेवार्ट नेतृत्वको प्रतिनिधिमण्डलले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्तसँग शिष्टाचार भेटघाट गरेका हुन् ।
भेटघाटमा उक्त संस्थाका प्रतिनिधिहरूले नेपालमा विशेष अवस्थामा हुन लागेको निर्वाचन पर्यवेक्षण गर्न पाउनु आफूहरूका लागि विशेष अवसर भएको बताउँदै निर्वाचन पूर्वतयारीका विषयमा जिज्ञासा राखेका थिए ।
आयोगका तर्फवाट सचिव कृष्णबहादुर राउतले निर्वाचन पूर्वतयारीको वर्तमान अवस्था र आगामी कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । उक्त टोली निर्वाचन अवधिभर नेपालमा रहने जनाइएको छ । -रासस

प्रतिक्रिया