हेजबुल्लाहको सैन्य गतिविधिमा प्रतिबन्धको लेबनानी प्रधानमन्त्रीद्वारा घाेषणा

बेरुत, लेबनान । लेबनान सरकारले हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा ‘तत्काल प्रतिबन्ध’ लगाउने बताएको छ । ‘हेजबुल्लाह समूहलाई उसका सैन्य र सुरक्षा गतिविधिमा ‘तत्काल प्रतिबन्ध’ लगाउने र हतियारहरू राज्यलाई बुझाउन ‘दवाव’ दिर्ने निर्णय गरिएको छ’ प्रधानमन्त्री नवाफ सलामले सोमबार बताएका छन् ।
‘सरकार र संसद् दुवैमा प्रतिनिधित्व गर्ने हेजबुल्लाहलाई लक्षित गर्दै सरकारले यो अभूतपूर्व कदम चालेको हो । इरान समर्थित समूहले शनिबार अमेरिका–इजरायली संयुक्त आक्रमणमा इरानी सर्वोच्च नेता अली खामेनीको हत्याको बदला लिन सोमबार बिहानै इजरायलतर्फ रकेट र ड्रोन प्रक्षेपण गरेको घोषणा गरेको केही घण्टापछि सरकारको यो भनाइ आएको हो ।
हेजबुल्लाहको चेतावनीपछि सोमबार इजरायलले बेरुत र दक्षिण लेबनानका दर्जनौँ गाउँहरूमा तीव्र जवाफी आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा ३१ जनाको मृत्यु भएको थियो र १४९ जना घाइते भएका थिए। मन्त्रिपरिषद्को आपतकालीन बैठकपछि सलामले भने, ‘लेबनानी राज्यले आफ्नो वैध संस्थाहरूको ढाँचाभन्दा बाहिर लेबनानी क्षेत्रबाट सुरु गरिएको कुनै पनि सैन्य वा सुरक्षा कारवाहीलाई पूर्ण र स्पष्ट रूपमा अस्वीकार गरेको घोषणा गर्दछ।’
मन्त्रीपरिषद्को बैठकपछि उनले भने, ‘घोषणासँगै हेजबुल्लाह समूहले कुनै सैन्य गतिविधि चलाएमा कानूनविरोधी गतिविधि हुनेछ र यसलाई आफ्नो हतियार हस्तान्तरण गर्न बाध्य पार्नेछ । हिजबुल्लाहको सबै सुरक्षा र सैन्य गतिविधिहरू तत्काल निषेध गर्न आवश्यक छ ।’ सोमबार सलामले सेना र सुरक्षा निकायलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न र ‘कुनै पनि सैन्य कारबाही वा लेबनानी भूमिबाट क्षेप्यास्त्र वा ड्रोन प्रक्षेपण’ रोक्न ‘तत्काल उपायहरू’ सोच्न आदेश दिए ।
लेबनानी सरकारले गत अगस्टमा इजरायलसँग लडेको एक वर्ष लामो युद्धपछि पार्टीलाई बिस्तारै निशस्त्र गर्ने निर्णय गरेको थियो जुन सन् २०२४ नोभेम्बरमा युद्धविराममा परिणत भएको थियो । तर पुनः शस्त्रीकरण गर्न खोजेको आरोप लगाउँदै इजरायलले हेजबुल्लाहसँग सम्बन्धित लक्ष्यमा आक्रमण जारी राख्दै आएको छ। युद्धविराम सम्झौताले इजरायललाई युद्ध जारी राख्न रोकेको देखिएको छैन ।
लेबनान, इजरायल, अमेरिका, फ्रान्स र संयुक्त राष्ट्रसङ्घको शान्ति सैनिकलाई समेटेर बनेको एक शान्ति समितिले युद्धविरामको अनुगमन गरिरहेको छ । सलामले सोमबार युद्धविरामको प्रत्याभूति गर्ने देश अमेरिका र फ्रान्सलाई ‘लेबनानको सम्पूर्ण भूभागमा हुने सबै आक्रमण रोक्न इजरायली पक्षबाट स्पष्ट र अन्तिम प्रतिबद्धता लिन’ आग्रह गरेका थिए । उनले इजरायलसँग नागरिक सहभागिता र अन्तर्राष्ट्रिय तत्वावधानमा वार्ता पुनः सुरु गर्न सरकार पूर्ण रूपमा तयार रहेको घोषणा गरे । -रासस/एएफपी

प्रतिक्रिया