यस्तो बन्दैछ एनआरएनए टिम, अधिकांश अभियन्ता रोबिन शेरचनको पक्षमा

काठमाडौं । फागुन ३० गतेदेखि सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनका लागि चुनावी सरगर्मी तीव्र भएको छ । संस्थालाई निकास दिने र फुटको संघारमा रहेको एनआरएनएको एकता जोगाउने सवालमा अधिकांशको रोजाइमा रोबिन शेरचन परेका छन् । रोबिन नेतृत्वमा आए मात्र संस्थाको एकता जोगिन सक्छ भन्ने आशामा ठुलो संख्यामा अभियन्ता उनलाई समर्थन गर्न एकठाउँमा उभिने भएसँगै उनको पक्षमा माहोल तातेको हो ।
शेरचनको पक्षमा धेरै अभियन्ताहरूको ओइरो लागेपछि अहिले उनलाई टिम मिलाउनै हम्मे परेको छ । यद्यपि, आपसी छलफलबाट टिमको नामावली लगभग टुंगो लागेको सम्बद्ध स्रोतले जनाएको छ । रोबिनलाई नेकपा एमाले निकट प्रवासी नेताहरूको साथ र समर्थन रहेको छ। उनले एकतालाई निष्कर्षमा पु¥याउने र सबैलाई समेटेर लैजाने भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासका संगठनहरूले पनि रोबिनलाई नै साथ दिने सहमति जनाएका छन् ।
एनआरएनएका पूर्वअध्यक्षहरू भवन भट्ट र देवमान हिराचन पनि खुलेर रोबिनकै पक्षमा उभिएका छन्। त्यस्तै शेरचनले एकताको अभियान सुरु गरेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने सहित शेष घले, आरके शर्मा र महेश श्रेष्ठ लाइनका मानिसहरू पनि रोबिन शेरचनकै टिममा अटाउने बताइएको छ । सबै राजनीतिक तथा वैचारिक समूहलाई समेटेर टिम बनाइएकाले यो टिम निकै बलियो र समावेशी देखिएको एक अभियन्ताले बताए ।
प्रारम्भिक छलफलबाट मुख्य पदाधिकारीहरूको खाका तयार भइसकेको छ । जसअनुसार अध्यक्षमा रोबिन शेरचन रहनेछन् भने उपाध्यक्षहरूमा लोक दाहाल, खगेन्द्र न्यौपाने (मलेसिया), मनोज गोर्खाली, प्रवीण गुरुङ, बुद्धि सुवेदी, चिरन्जिबी घिमिरे (क्यानडा) र सुनिल शाहको नाम आएको छन् । त्यसैगरी युवा उपाध्यक्षमा सुपेन्द्र घिसिङको नाम तय भएको छ भने महिला उपाध्यक्षमा यास्मिन बेगम र टिका गुरुङ दुवैले इच्छा जाहेर गरेकाले उनीहरू दुवैलाई मिलाएर लैजाने सहमति भएको छ। महासचिवमा रामशरण पक्कापक्की जस्तै हुँदा उपमहासचिवमा पारसमणि पोखरेल, दीपक गौतम र रोबिन बज्राचार्यको नाम आएको छ। उनीहरुमध्येबाट नाम टुंग्याएर अघि बढ्नेगरी छलफल भएको छ ।
त्यस्तै सचिव पदमा माधव दुलाल, शिशिर नेपाल, राजेन्द्र अर्याल, अभिमन्यु बस्नेत , शिवप्रसाद पौडेल र टंक गैरे लगायतका नामहरू अगाडि आएको छ। कोषाध्यक्षमा अस्ट्रेलियाका अनिल पोखरेल, सह–कोषाध्यक्षमा दधिबल खड्का, मोहम्मद मुक्तदा र युवा संयोजकमा नविन न्युरेको नाम टुंगो लागेको छ । क्षेत्रीय संयोजक (आरसी÷डिआरसी) लगायतका पदहरूको टुंगो भने पछिल्लो चरणको छलफलबाट लगाइने बताइएको छ । यसरी एनआरएनएका ठूला र प्रभावशाली पक्षहरू मिलेर गएपछि दोस्रो पक्ष निकै दबाबमा परेको स्रोतले बतायो। पछिल्लो समीकरणसँगै हेमराजको अवस्था कमजोर बन्न पुगेको र उनलाई बोक्ने बद्री केसी मात्र रहेको चर्चा एनआरएनए वृत्तमा चल्न थालेको छ । उसो त अन्तिम समयमा सहमतिमै नेतृत्व चयन गर्न पहल पनि भइरहेको छ ।
आगामी फागुन ३० गतेदेखि हुने महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ। यस महाधिवेशनबाट एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, एक महिला उपाध्यक्ष र एक युवा उपाध्यक्ष निर्वाचित हुनेछन । त्यसैगरी, एक महासचिव, दुई उपमहासचिव, ६ सचिव र एक महिला सचिवको निर्वाचन हुनेछ । आर्थिक कार्यभार सम्हाल्न एक कोषाध्यक्ष, तीन सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष चयन हुने व्यवस्था छ । यसका साथै, एक महिला संयोजक, एक युवा संयोजक, ६ वटा क्षेत्रबाट एक–एक जना गरी ६ क्षेत्रीय संयोजक र १७ क्षेत्रीय उपसंयोजक निर्वाचित हुनेछन् ।

प्रतिक्रिया