निर्वाचन लागि मौन अविधको पालना गर्न सम्बन्धित सबै पक्षसँग आग्रह

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ फागुन १८ गते जारी गरेको विज्ञप्तिमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ ।
इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा नवयुवा पुस्ताको प्रदर्शनपश्चात विघटन गरिएको प्रतिनिधिसभाको निर्वाचन विशेष राजनीतिक परिस्थितिमा हुन लागेको छ ।
फागुन १८ गते मध्यरातदेखि लागू हुने मौन अवधिलाई हामीले अत्यन्त संवेदनशील समयका रूपमा लिएको छौँ । विगतका निर्वाचनहरूको अनुगमन अनुभवका आधारमा मौन अवधिमा मतदातालाई प्रभावमा पार्ने, आर्थिक प्रलोभन दिने, दुष्प्रचार गर्ने तथा अन्य आचारसंहिता विपरीत गतिविधि बढ्न सक्ने जोखिम रहने देखिएको छ । त्यसैले सो अवधिसहित सम्पूर्ण निर्वाचन प्रक्रियाभर कडाइका साथ निगरानी र नियन्त्रण गर्न आग्रह गर्दछौँ भनिएको छ ।
इन्सेकले २०४८ सालदेखि नेपालमा सम्पन्न विभिन्न निर्वाचनहरूको निरन्तर पर्यवेक्षण गर्दै आएको छ । यस निर्वाचनमा पनि देशभर २ सय ३२ जना पर्यवेक्षकमार्फत निर्वाचनपूर्व, निर्वाचनका दिन तथा निर्वाचनपश्चात अनुगमन गरिरहेको छ ।
निर्वाचनपूर्वको अनुगमनका क्रममा आचारसंहिता विपरीत गतिविधि, मतदातालाई आर्थिक प्रलोभन दिने प्रयास तथा द्वैध अर्थ लाग्ने अभिव्यक्तिजस्ता विषय अभिलेखीकरण गरिएको छ । यस्ता क्रियाकलापहरूले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित निकायले प्रभावकारी हस्तक्षेप गर्न आवश्यक छ ।
विशेष परिस्थितिमा हुन लागेको यो निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन; लोकतान्त्रिक अभ्यासप्रति जनविश्वास पुनःस्थापना गर्ने महत्वपूर्ण अवसर पनि हो । मतदाताले कुनै दबाब, त्रास वा प्रलोभन बिना स्वतन्त्र रूपमा मतदान गर्न पाउने अधिकारको संरक्षण राज्यको प्रमुख दायित्व हो विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया