खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ३४ वटा खानेपानी, चारवटा नदी नियन्त्रण, २९ वटा नदी नियन्त्रण, विपद्का चार र ऊर्जातर्फ दुईवटा योजना कार्यान्वयनमा ल्याएको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ४३ वटा योजनाको ठेक्का लगाएको र बाँकी योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । ‘प्रदेश सरकारको निर्देशनअनुसार यस वर्ष सबै योजना ठेक्का प्रतिस्पर्धाबाट कार्यान्वयनमा लगिएको छ’, उनले भने, ‘गत वर्ष सुरु भएका दुईवटा योजना निर्माण सकिएका छन् ।’
सङ्घीय विशेष अनुदानको रत्नेचौर लिफ्ट खानेपानी र मङ्गला गाउँपालिका–४ को बुकेनी सिँचाइ योजना निर्माण सकिएको हो । सबै योजनाहरूका लागि पुँजीगततर्फ रु ११ करोड ६८ लाख बजेट विनियोजन भएको छ । खानेपानीतर्फ स्रोत सुनिश्चितता भएका १२, क्रमागत १०, मर्मतसम्भार सात र सर्वेक्षणसम्बन्धी चारवटा योजना छन् ।
नदी नियन्त्रणतर्फ कुल रु एक करोड बजेट भएको पोखरेबगर, सिम, तातोपानी संरक्षण र ठाडोढुङ्गा पहिरो रोकथाम योजना रहेका छन् । सिँचाइतर्फका ११ वटा योजनाको स्रोत सुनिश्चितता, १३ वटा क्रमागत र पाँचवटा मर्मतसम्भारसम्बन्धी योजना छन् । -रासस

प्रतिक्रिया