देवघाटमा देखियो घडियाल गोही

चितवन । गैंडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो ।
मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैंडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिए ।
मलामी गएका धेरैले गोही देखेका उनको भनाइ छ । पत्रकार पौडेलले केहीदिन अघि स्थानीय बोटेले नदी बगरमा गोही देखेको बताए ।
निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनास थापा मगरले घडियाल गोही बगेको सफा पानीमा बस्ने, माछा खाने प्राणीका रूपमा रहेको बताए । नदी र खोलामा भएको प्रदूषण, मानवीय अतिक्रमण र माछाको कमीले घडियाल हराउँदै गएका उनको बुझाइ छ ।
स्थानीय बोटे समुदायका अनुसार देवघाट र वरपरको क्षेत्रमा करिब ३५ वर्षयतादेखि घडियाल गोही देखिन छोडेको थियो । घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा प्रजनन केन्द्र रहेको छ । जहाँ राप्ती र नारायणी नदी किनारमा जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी यहाँ ल्याएर बच्चा हुर्काउने गरिन्छ ।
हुर्किएका बच्चालाई पुनः नदीहरूमा छाड्ने गरिएको छ । विगतमा कालीगण्डकीमा समेत हुर्किएका घडियाल गोही छाडिँदै आउने भए पनि संरक्षण हुन नसकेपछि निकुञ्ज आसपासका राप्ती र नारायणी नदीमा मात्रै छोड्ने गरिएको थापा मगरले बताए ।
पछिल्लो पटक गत पुसमा सार्वजनिक भएको गणना अनुसार राप्तीमा २३१ र नारायणीमा १३५ घडियाल गोही फेला परेका छन् । देवघाट क्षेत्रमा गोही नदेखिने भएकाले पछिल्ला वर्षहरूमा गणना हुन छाडेको मगरले बताउनुभयो । देवघाटमा गोही देखिनुलाई महत्वका साथ हेरिएको भन्दै उहाँले यसबारे थप अध्ययन गरिने जानकारी दिए ।

प्रतिक्रिया