नैरोबीमा अचानक आएको बाढीमा २३ जनाको मृत्यु

नैरोबी । केन्याको राजधानी नैरोबीमा रातभर परेको भारी वर्षापछि आएको अचानक बाढीमा कम्तीमा २३ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । खोज तथा उद्धार कार्य जारी रहँदा शहरका धेरै क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ ।
शुक्रबार राति परेको भीषण वर्षाले शहरका मुख्य सडकहरू नदीझैँ बनेका थिए भने हजारौँ घर र पसल डुबानमा परेका थिए । उद्धार टोलीले शनिबार पनि फसेका बासिन्दालाई उद्धार गर्ने र मृतकको शव निकाल्ने काम जारी राखेको छ ।
शहरका झुपडी बस्तीदेखि सम्पन्न क्षेत्रसम्म सडक र संरचनामा ठूलो क्षति पुगेको देखिएको छ । केन्या रेडक्रसका प्रवक्ता मुनिर अहमदका अनुसार शहरका धेरै क्षेत्र प्रभावित भएका छन् भने देशका अन्य जिल्लाहरूमा पनि असर परेको छ ।
प्रहरीका अनुसार रातभर कम्तीमा २९ जनालाई उद्धार गरिएको छ र आपतकालीन सूचनामा तत्काल प्रतिक्रिया दिँदै खोज तथा उद्धार कार्य जारी राखिएको छ ।
पछिल्ला २० वर्षमा पूर्वी अफ्रिकामा अत्यधिक वर्षा र खडेरीको आवृत्ति बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । गत महिना केन्याको उत्तरपूर्वी क्षेत्र मन्डेरा जिल्लामा परेको खडेरीका कारण ठूलो संख्यामा पशु चौपाया मरेको समाचार पनि आएको थियो ।
भारी वर्षापछि सामाजिक सञ्जालमा नैरोबीका गभर्नर जोनसन सकाजा विरुद्ध आलोचना पनि बढेको छ । सन् २०२२ मा पद सम्हाल्दा उनले शहरको ढल निकास र सडक पूर्वाधार सुधार गर्ने वाचा गरेका थिए ।
यसैबीच राष्ट्रिय ध्वजावाहक हवाई सेवाले वर्षाका कारण केही उडानहरू तटीय शहर मोम्बासातर्फ मोड्नुपरेको जनाएको छ । केन्या रेडक्रसका अनुसार छिमेकी जिल्लाहरूमा पनि सयौँ परिवार प्रभावित भएका छन् भने ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन नष्ट भएको छ । -रासस/एएफपी

प्रतिक्रिया