हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका ११९ उम्मेदवार विजयी

नेपालखोज २०८२ फागुन २४ गते १७:३२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै, नेकपा (एमाले) सात स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि रहेको छ । आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट हालसम्म सात उम्मेदवार विजयी भएका छन् ।

यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ

प्रतिनिधिसभा सदस्यको फागुन २१ गते सम्पन्न समानुपातिक निर्वाचनतर्फ हालसम्म ४५ लाख ३० हजार ९१३ मतगणना सम्पन्न भएको छ । त्यसमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७०, कांग्रेसले सात लाख ६० हजार ४८५, एमालेले छ लाख ४६ हजार ७७० र नेकपाले तीन लाख चार हजार ६२, राप्रपाले एक लाख ६३ हजार १५१ र श्रम संस्कृति पार्टीले एक लाख सात हजार ३२ मत प्राप्त गरेको छ । -रासस

प्रतिक्रिया