‘म्यागासेसे’ को संसद् यात्रा…

सामाजिक अभियन्ताको पहिचान बनाएका महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । हाल चितवनमा बस्दै आएका ७१ वर्षीय पुनको जन्म ११ माघ २०११ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका पुनले गत ४ माघमा मन्त्री पदबाट राजीनामा दिएर जन्मथलोमा चुनाव लड्न आएका थिए ।
अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका– ७ मा रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताए । २०५८–६४ को समयमा पोखरा, काठमाडाैंलगायत शहर बजारमा सहज रूपमा कम्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरूमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेका थिए ।
ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकोमा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रूपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गरे । चौरीपालन, माछापालन, तरकारीखेती गरेर ग्रामीण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाइमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएको छ । चौरी र सामुदायिक लजको आम्दानी विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ ।
पुनको अगुवाइमा २०६० को दशकमा टेलिमेडिसिन सेवा सञ्चालन गरेर गाउँका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई शहर बजारमा रहेका चिकित्सको परामर्शमा सेवा दिने अभ्यास गरेका छन् । नागीमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको थियो ।
उनले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरङजा, झिँलगायतका ठाउँमा नर्सरी स्थापना गरी बिरुवा उत्पादन र वृक्षरोपण हुँदै आएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन एवं सहयोग गर्न व्यक्तिगत रूपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरी स्रोत जुटाएका थिए । आफ्नै जीवनकथाको पुस्तक बेचेर भएको १२ करोड आम्दानी वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा परिचालन गरेका छन् ।
पुनले सन् २००२ मा अशोका फेलोसिप, २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गरेका छन् । पुनको राष्ट्रिय, अन्तर्राष्ट्रिय छवि र व्यक्तित्वले मत परिवर्तनको खोजीमा रहेका म्याग्देली मतदाताको मन जितेर राजनीतिक दलहरूको सांगठनिक शक्तिमाथि हावी हुँदै फराकिलो मतान्तरका साथ ऐतिहासिक जित निकालेका म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रध्यापक विष्णुप्रसाद आचार्यले बताए ।
एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पछि पारेर जित हासिल गरेका पुनले २२ हजार ८५० मतका साथ जित निकालेका हुन् । ‘राजनीतिक कार्यकर्ताको दबदवा, नेता–कार्यकर्तासँगको सम्बन्ध र पुराना राजनीतिक सम्बन्धका कारण मतदाता खुल्न नसक्ने अवस्थामा भने जस्तो काम गर्न नसकेको झोकमा मन्त्री पद छोडेर चुनाव लड्न आएका महावीरलाई चुनौती हुने आकलन र पूर्वअनुमान मिलेन,’ सहायक प्रअ आचार्यले भने, ‘यसपाली लोभ, आश्वासन, डर, धम्की र भ्रमले अपेक्षाकृत काम गरेन, बरु यसले महावीरलाई जित्न झन सहज बनाएको देखियो ।’
महावीरको जितले म्याग्दीमा राजनीतिक दल तथा नेताहरूलाई समाजमा कार्यकर्ताबाहेक पनि मानिस छन् र चुनाव जित्नको लागि संगठन, शक्ति र पैसानै चाहिने रहेछ भन्ने धारणाबाट मुक्त हुन सन्देश दिएको आचार्यले बताए । अब गठन हुने प्रतिनिधिसभा सदस्यमा दलविहीन सांसद पुन मात्र बनेका छन् । पुनले विद्यालय, विश्व विद्यालय, प्राविधिक शिक्षामा राजनीतिकरण र स्वार्थ समूहको प्रभावलाई अन्त्य गरेर शैक्षिक सुधारका लागि नीति निर्माण गर्न अगुवाइ गर्ने प्रतिक्रिया दिए ।
मान्य शैलीमा मतदातासँग अनौपचारिक हिसाबले कुराकानी गर्नुका साथै सामाजिक सञ्जालमार्फत चुनाव प्रचार गरेका महावीरले विजय उत्सव मनाउने र खुसीयाली साट्ने नाममा तडकभडक प्रदर्शन र अनावश्यक खर्च नगर्न अनुरोध गरेका छन् । महावीरले अपनाएको फरक शैलीको चुनाव प्रचार र मतदाताबाट आर्थिक सहयोग पाएको विषयले चर्चा पाएको छ । -सन्तोष गौतम / रासस

प्रतिक्रिया