रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

लुम्बिनी । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । सो पार्टीले रुपन्देहीमा समानुपातिकतर्फ दुई लाख ४२ हजार ४०२ मत प्राप्त गरी पहिलो स्थान बनाएको छ ।
रुपन्देही जिल्लामा सम्पन्न प्रतिनिधिसभा निर्माचनमा कूल ६ लाख ७२ हजार ५२३ मतदाता कायम रहेका थिए । जसअन्तर्गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ६५.४२ प्रतिशत अर्थात् चार लाख ३९ हजार ९७६ मत खसेको थियो । समानुपातिकतर्फको मतगणनाअनुुसार रास्वपाले प्रत्यक्षभन्दा पाँच हजार ३२१ मत बढी हो ।
यो गणना भएको कूल मतको ५५ प्रतिशत हो । प्रत्यक्षतर्फ रास्वपाले पाँच वटै क्षेत्रबाट दुई लाख ३७ हजार ८१ मत पाएको छ । यस्तै विसं २०७९ मा समानुपातिकमा पहिलो दल बनेको नेकपा (एमाले) भने अहिलेको निर्वाचनमा तेस्रो स्थानमा पुगेको छ ।
एमालेले सम्पन्न निर्वाचनमा ५१ हजार ९४९ मत अर्थात् ११.७ प्रतिशत मतसहित तेस्रो स्थानमा पुगेको निर्वाचन आयोगको तथ्याङ्कमा देखिएको छ । यस्तै अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने ५१ हजार ९४९ मत अर्थात् ११.८ प्रतिशत मत गरी यस पटक पनि दोस्रो स्थान कायम गरेको छ ।
यस पटक चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २८ हजार ३१२ मत अर्थात् ६.४ प्रतिशत मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले ११ हजार ३४८ मत अर्थात् २.५ प्रतिशत मत पाएको छ ।
यस्तै रुपन्देहीबाट श्रम संस्कृति पार्टीले आठ हजार ३५६ मत, जनमत पार्टीले सात हजार २६३ मत, जसपा नेपालले छ हजार २६३ मत तथा नागरिक उन्मुक्ति पार्टीले तीन हजार ५५ मत ल्याएको छ । –रासस

प्रतिक्रिया