सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा । सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४ः१५ बजे भएको विस्फोटमा एकजना घाइते भएका छन् ।
बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको फर्ममा विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरव यादवको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । विस्फोट सुतली बम हो वा अन्य प्रकारको भन्ने अझै यकिन भइसकेको छैन ।
प्रहरी नायब उपरीक्षक पालका अनुसार विस्फोट भएको सटर वरपर र कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला परेको छैन । घटनापछि केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया