आधारभूत तह परीक्षाका लागि ५७ केन्द्र

नेपालखोज २०८२ फागुन २७ गते २०:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह (कक्षा ८ को) उत्तीर्ण परीक्षाका लागि ५७ वटा केन्द्र तोकेको छ ।

आगामी चैत ५ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आधारभूत तह परीक्षा समितिको आज बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको हो ।

गत माघ १४ गते बसेको बैठकले चैत ५ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

यस वर्ष ४९४ वटा विद्यालयका १९ हजार ११७ जना विद्यार्थी आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुँदैछन् । यसमा १० हजार ७४५ जना छात्र र आठ हजार ३७२ जना छात्रा छन् ।

विद्यालयको प्रकृतिका आधारमा दुई वटा कारागार र एउटा विशेषसहित ७७ वटा सामुदायिक विद्यालयका चार हजार ६१४, २० वटा वैकल्पिक विद्यालयका ८३७ जना, ६ वटा धार्मिक विद्यालयका ७० जना र ३९१ वटा संस्थागत विद्यालयका १३ हजार ५९६ जना विद्यार्थीले परीक्षामा सहभागी हुने प्रमुख ढकालले जानकारी दिए ।

परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र कायम गरिएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने निर्णय भएको छ ।

प्रतिक्रिया