यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

नेपालखोज २०८२ चैत २ गते २१:१७

दुबई । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ ।

मारिनेहरूमा २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार सो अवधिमा यूएई सुरक्षाबलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेका छन् ।

सोमबार भएको आक्रमणमा ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरिएको थियो, जसले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्‍याएको बताइएको छ ।

अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कमा आगलागी भएको र केही समय उडान सेवा रोकिएको थियो ।

फुजैराह तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भए पनि त्यहाँ कुनै मानवीय क्षति भएको छैन। यूएई रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको जनाएको छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया