मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले ९६ प्रतिशत ढडेलोको कारण मानवीय लापरवाही भएको पाइएको बताए ।
फागुन, चैत, वैशाख र जेठमा बढी डढेलो लाग्ने गरेको छ । रुख बिरुवा, जडीबुटी, वन्यजन्तु र पन्छीको वासस्थान डढेलोबाट नष्ट हुने गरेको छ । डढेलो निभाउने क्रममा विगतका वर्षमा मानवीय क्षति भएको थियो । म्याग्दी डढेलोको जोखिमका हिसाबले नेपालका ७७ जिल्लामध्ये ३०औँ स्थानमा छ । आर्थिक वर्ष २०७९÷८० मा १०२ ठाउँमा ७९० हेक्टर, २०८०÷८१ मा १४५ स्थानमा ८९० हेक्टर र २०८१÷८२ मा ११५ स्थानमा ८०५ हेक्टर वन डढेलोले क्षति गरेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।
गोठालाले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने चलन छ । सिकारीले वन्यजन्तु र पन्छीलाई भगाउन डढेलो लगाउँछन् । चालु आर्थिक वर्षमा डढेलोको क्षतिको विवरण सङ्कलन गर्न थालिएको वन अधिकृत चन्द्रमणि सापकोटाले बताए । जिल्लास्तरमा डढेलो रोकथाम तथा नियन्त्रण कार्ययोजना बनाएर सुरक्षा निकाय, प्रशासन, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिएको उनले बताए ।
डढेलो लाग्न नदिन प्रतिकारात्मक र लागेको डढेलो नियन्त्रणमा लिन नियन्त्रणत्मक रणनीति बनाइएको छ । सम्भव भएको ठाउँमा मानवीय र भौतिक सम्पत्ति जोगाउने रणनीति लिइएको छ । वन उपभोक्ता र विद्यालयस्तरमा सचेतनामूलक कार्यक्रमका साथै सुरक्षा निकायलाई डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री उपलब्ध गराएको वन अधिकृत शान्तिकुमारी शाहीले बताए ।
उनका अनुसार डढेलो नियन्त्रणका लागि पानी सङ्कलन र वन्यजन्तुलाई पानीका लागि मानव बस्तीमा आउन नपरोस् भनेर यस वर्ष छवटा सामुदायिक वनमा पोखरी निर्माणको तयारी भएको छ । जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र छ । तीन सय ११ वटा सामुदायिक वन उपभोक्ता समूह छन् । –रासस

प्रतिक्रिया