केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

नेपालखोज २०८२ चैत ४ गते १८:१५

काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा कैदीबन्दी अझै फरार रहेको जानकारी दिए ।

‘भदौ २४ गते बिहानसम्म केन्द्रीय कारागारमा तीन हजार ८८० कैदीबन्दी थिए, जेनजी आन्दोलनका क्रममा तीन हजार ५१७ कैदीबन्दी भागेका थिए । तीमध्ये अधिकाशं कैदीबन्दी फिर्ता भए, हाल एक हजार २०० कैदीबन्दी अझै फरार छन्,’ उनले भने । हाल केन्द्रीय कारागारमा तीन हजार ३१३ कैदीबन्दी छन् ।

जसमध्ये एक हजार ९२० कैदी, एक हजार ४९३ थुनुवा छन् । केन्द्रीय जेलमा एक हजार ७४९, भद्र जेलमा एक हजार २५० र महिला जेलमा ३१४ कैदीबन्दी रहेको सूचना अधिकारी रेग्मीले बताए ।

केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ । -रासस

प्रतिक्रिया