तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

तुलसीपुर (दाङ) । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामी लाभान्वित भइरहेका छन् । लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङको राप्ती, गढवा, बङ्गलाचुली गाउँपालिकासहित छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका विभिन्न क्षेत्रबाट समेत बिरामी आउने गरेका छन् ।
अस्पताल विकास समितिका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अस्पतालमा अन्य क्षेत्र र जिल्लाबाट समेत बिरामी आउने गरेको बताए । बिरामीको चाप बढी भएकाले व्यवस्थापनमा केही दबाब भए पनि नागरिकको विश्वास जित्न थालेकाले आफूहरूलाई काम गर्ने हौसला मिलिरहेको उनको भनाइ छ ।
‘यो अस्पताल स्थानीय नागरिकलाई लक्षित गरी सञ्चालनमा ल्याएका थियौँ, हाल दाङसहित प्यूठान, अर्घाखाँचीसम्मका नागरिकले पनि सेवा लिइरहेका छन् । यो हाम्रो सेवाप्रतिको भरोसा पनि हो’, अध्यक्ष विष्टले भने । अस्पतालका प्रशासन प्रमुख पृथ्वी पौडेलले यहाँबाट दैनिक एक सयदेखि डेढ सय बिरामीले सेवा लिने गरेको बताए ।
कुनै कुनै समयमा दैनिक दुई सयसम्म बिरामी आउने गरेको पनि उनले जानकारी दिए । ‘अस्पतालमा हाल चौबिसै घण्टा आपत्कालीन सेवा, बहिरङ्ग सेवा, भिडियो एक्स–रे, एक्स–रे, प्रयोगशाला, सुरक्षित गर्भपतन, आमा सुरक्षा कार्यक्रम र बिरामी भर्ना गर्ने इन्डोर सेवा सञ्चालनमा छ । यस्तै, प्रत्येक महिनाको अन्तिम शनिबार हाडजोर्नीको विशेषज्ञ सेवासमेत सञ्चालनमा छ’, प्रशासन प्रमुख पौडेलले भने ।
हाल यहाँ कन्सल्टेन्ट डाक्टर एकजना, मेडिकल अफिसर चार, स्टाफनर्स, हेल्थअसिस्टेन्ट, अहेब, अनमी पाँच/पाँच जना तथा एनेस्थेसिया असिस्टेन्ट र असिस्टेन्ट फार्मेसी एक÷एक जना रहेका छन् ।
यस्तै, ल्याब टेक्निसियन एक जना, ल्याब असिस्टेन्ट चार, रेडियोग्राफर दुई, अस्पताल प्रशासक र कम्प्युटर अप्रेटर एक÷एक जना रहेका छन् ।
सेवा सहजताका लागि अक्सिजन सिलिण्डरसहितको सुविधा सम्पन्न एम्बुलेन्स पनि व्यवस्था गरिएको छ । हाल अस्पतालमा आएका सामान्य बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था नरहेको र चाँडै शल्यक्रिया सेवासमेत सुरु गर्ने तयारी भइरहेको प्रशासन प्रमुख पौडेलले बताए ।
सकेसम्म विशेषज्ञ सेवा लिन टाढा जान नपरोस् भन्ने उद्देश्यले अस्पतालको सेवा विस्तार गर्न लागिएको उनको भनाइ छ । –रासस

प्रतिक्रिया