सूर्य नेपाल वेस्टर्न ओपन सुरु, पहिलो दिन ५ गल्फर शीर्षस्थानमा

नेपालखोज २०८२ चैत ५ गते ९:२४

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६ औँ संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन पाँच गल्फर संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । प्रोफेसनल गल्फर शुक्र बहादुर राई, भुवन नगरकोटी, भु बहादुर गुरुङ र जयराम श्रेष्ठ तथा एमेच्योर राहुल विश्वकर्माले इभन–पार ६९ को स्कोरमा शीर्षस्थान बाँडे ।

१–ओभर ७० को स्कोरमा सञ्जय लामा छैटौं, २–ओभर ७१ को स्कोरमा रमेश अधिकारी सातौं र र ३–ओभर ७२ सहित भुवन कुमार रोक्का आठौं स्थानमा रहेका छन् । ४–ओभर ७३ स्कोर निकालेका रवि खड्का र प्रदीप कुमार लामाले संयुक्तरुपमा नवौं स्थान बाँडे । हिमालयन गल्फ कोर्समा शुक्रले फ्रन्ट नाइन २–ओभर ३६ मा सकाए। पहिलो, तेस्रो, छैटौं र सातौं होलमा बोगी खेपेका उनले पाँचौं र नवौं होलमा एक–एक सट बचाए। ब्याक नाइनमा सम्हालिंदै २–अन्डर ३३ खेले । १५औं होलमा एक सट खेर फाल्दा १०औं, १४औं र १७औं होलमा बर्डी प्रहार गरे ।

पछिल्लो दुई प्रतियोगिता जितेका भुवनले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाउने क्रममा पहिलो नौ होलमा पार जोगाए । ब्याक नाइन पनि इभन–पार ३५ खेले । १० औं र १३औं होलमा बर्डी प्रहार गर्दा ११औं र १२औं होलमा बोगी खेपे। उनले कूल १४ वटा होलमा पार जोगाए ।

पोखराका घरेलु गल्फर भु बहादुरले पनि फ्रन्ट नाइन इभन–पार ३४ र ब्याक नाइन इभन–पार ३५ मा सकाए। उनले तेस्रो होलमा बर्डी र सातौं होलमा बोगी खेपे। यसपछि १२ औं र १६ औं होलमा बोगी खेप्दा १० औं र १५ औं मा बर्डी प्रहार गरे । जयरामले बोगीबाट दिनको सुरूवात गरे र पाँचौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मा सकाए । यसपछि १६ औं होलमा बोगी खेल्दा बाँकी होलमा पार जोगाउँदै ब्याक नाइन १–ओभर ३६ मा सकाए ।

एमेच्योर राहुलले फ्रन्ट नाइन इभन–पार ३४ र ब्याक नाइन इभन–पार ३५ मा पुरा गरे। पहिलो र १७औं होलमा एक–एक सट बचाउँदा नवौं र दशौं होलमा बोगी खेले। एमेच्योरतर्फ राहुलले ५ स्ट्रोकको अग्रता बनाए । प्रज्वल गुरूङ ५–ओभर ७४ सहित दोस्रो स्थानमा रहेका छन् । ८–ओभर ७७ खेलेका कवि थापा तेस्रो स्थानमा रहेका छन् ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपिजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । तीन दिने प्रतियोगिता ५४ होलको हुनेछ । दोस्रो दिनको समाप्तीपछि कट लागु हुनेछ । १८ शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीहरूले अन्तिम १८ होलको लागि कट बनाउनेछन् ।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यो पटक कुल पुरस्कार राशि वृद्धि गरिएको छ। कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगिताको विजेताले १ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख २५ हजार र १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै शीर्ष १८ स्थानमा रहने अन्य प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । शनिबारको प्रो–एम इभेन्टसँगै प्रतियोगिता समाप्त हुनेछ ।

प्रतिक्रिया