बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नेपालखोज २०८२ चैत ८ गते ९:२०

मध्यविन्दु (नवलपरासी) । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि यातायात सेवा प्रभावित भएको हो ।

हिउँदे वर्षा रोकिए पनि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू बाटोमै अलपत्र परेका छन् । लामो दूरीका यात्रुवाहक तथा मालवाहक सवारीसाधन सडकमा रोकिँदा गन्तव्यमा पुग्न ढिलाइ भएको छ । दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ । यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । हाल साना तथा आकस्मिक सेवाका सवारीसाधनसमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया