६३ वर्ष अगाडीको बालविवाहको दुलही भेट्दा

सुनील उलक २०८२ चैत ११ गते ११:३७

भक्तपुरकी मोनालिसाको तस्विर निकै भाइरल भयो । भक्तपुरमा अझ बढी चर्चा परिचर्चा भयो । मेरो पोष्टमा केवल ९ घण्टामा ५ लाखभन्दा बढीले हेरेका थिए । अझ कतिले कपि पेस्ट समेत गरेका थिए । ति पोष्टमा पनि थुप्रैले हेरे होला । तर यति बिघ्न भाइरल भएको भने वहाँ दिदी स्वयंले भने दिनभर थाहा पाउनुभएन रहेछ ।

यस्तै ८ वर्ष अगाडि धुलिखेलमा पनि बि.सं. २०१९ सालमा बालविवाह भएको एक दिदी भेट भएको थियो । वहाँले आफ्नो विवाहको तस्विर ५० वर्ष पछि म मार्फत हेर्न पाउनु भएको थियो।

६३ वर्ष अगाडी धुलिखेलमा भएको बालविवाहको तस्विर पिसकोर भोलेन्टियर जेरी यङ्गले खिच्नु भएको थियो । विवाहको क्षण शायद ति बालबालिका जो दुलाहा तथा दुलही बनेका थिए, वहाँहरूले बिर्सि पनि सकेका थिए । ६ वर्ष अगाडि धुलिखेलमा गरिएको फोटो प्रदर्शनीमा यो फोटोलाई पनि राख्नु उचित लाग्यो ।

उद्घाटनको समय एक आमाले यो बिहे मेरो भदिनी शकुन्तला को हो भने पछि म दुलही शकुन्तलालाई खोज्न गए । नजिकै घर रहेछ, एक जनाले चश्मा लगाउनु हुने नै हो भने पछि म नजिकै गएर सुनाए, “तपाईको बिहेको फोटो मसंग छ नि । बच्चामै बिहे गर्नु भएको रहेछ ।” वहाँ निकै आश्चर्यित हुनु भयो । र मैले भन्दै गए, “२०१९ – २० सालतिर तपाईको बिहे भएको रहेछ । तपाईको श्रीमान असलकाजी संजीवनीमा ६ कक्षा पढ्नु हुदो रहेछ त्यतिबेला तपाई चाही भर्ना पनि नहुनु भएको रहेछ ।”

एकैछिन मेरो अनुहार हेरिरहनु भयो र भन्नुभयो, “कसरी थाहा पाउनु भयो ? तपाई मेरो बिहेमा आउनु भएको थियो ?” मैले वहाँलाई सबिस्तार भने एउटा बिदेशीले तपाईको बिहे हुँदा बच्चा मै बिहे भएको देखेर अनाैठो मानेर फोटो खिचेर लग्नु भएको रहेछ । आज त्यो फोटो तपाईहरूलाई देखाउन मैले धुलिखेल लिएर आएको छु ।

वहाँको श्रीमान आफन्तको मृत्यु भएको दश दिनको काममा जानु भएको रहेछ । मसंग पर्खने समय पनि थिएन । अन्तमा एउटा तपाइसंग फोटो खिच्न चाहन्छु भने । वहाँले भन्नुभयो, “हुन्न हुन्न मैले बिहे गर्दा त श्रीमान संग नजिक बसेर फोटो खिचिन, तपाइसंग कहा खिच्न मिल्छ ?” । तर के गर्नु भाइ प्रशान्त श्रेष्ठले खिचि हालेछ । साच्चै यो फोटोमा वास्तविक क्लिक परे जस्तो लाग्यो ।

मुख्य तस्विर शकुन्तला र आशाकाजीको ६१ वर्ष अगाडि २०१९ सालमा भएको विवाहको हो भने इनसेटमा ६ वर्ष अगाडि त्यो समयको दुलही शकुन्तलासंग खिचेको मेरो फोटो । कार्यक्रम समापन पछि वहाँको बिहेको फोटो वहाँलाइ नै दिन लगाएँ ।

प्रतिक्रिया