कलाकार संघको अध्यक्षमा उत्तम केसीको घोषणा

नेपालखोज २०८२ चैत ११ गते १५:३०

काठमाडौं । चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ । यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् ।

यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ । संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ ।

त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ । वि.सं २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।

रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन । बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गरेका हुन् ।

२०० भन्दा बढी टेलिफिल्ममा अभिनय गरेका केसीले ‘आदर्श नारी’बाट चलचित्रमा डेब्यु गरेका हुन् । उनले पुकार, मोहनी, ज्वाला, जन्मभूमि, बलराम, चमत्कार, चण्डाल, चक्रव्युह, नाइनभन्नु ल सिरिज, होस्टेल, बुकुरो, झिंगे दाउ–२ सहित २५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

अहिले पनि अभिनयलाई निरन्तरता दइिरहेका केसी विशेषगरी ‘चुँईचुँई’ पारेर भन्ने थेगोबाट चर्चामा आएका हुन । जीवन चक्र नामक टेलिचलचित्रमा उत्तम काकाको भूमिकाबाट उनको ‘चुँईचुँई’ यात्रा सुरु भएको हो ।

चलचित्र विकास बोर्डको पूर्व सदस्य रहेका केसी संघको पूर्व कार्यकारी सदस्यहुँदै सहकोषाध्यक्ष र सचिवमा निर्वाचित भएका थिए । उनी नेपाल सरकारको प्रशासनिक क्षेत्रमा उनको अनुभव रहेको छ ।

प्रतिक्रिया