इरान युद्ध र इन्धनको मूल्यवृद्धिले ट्रम्पको लोकप्रियता ऐतिहासिक न्यून विन्दुमा

नेपालखोज २०८२ चैत ११ गते २१:०५

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता दोस्रो कार्यकालको सुरुवाती चरणमै निकै कमजोर देखिएको छ। पछिल्लो ‘रोयटर्स/इप्सोस’ सर्वेक्षण अनुसार, इरानसँगको जारी युद्ध र त्यसका कारण अकासिएको इन्धनको मूल्यले गर्दा ट्रम्पको लोकप्रियता ३६ प्रतिशतमा झरेको छ । यो उनको दोस्रो कार्यकालकै सबैभन्दा न्यून विन्दु हो ।

गत हप्तासम्म ४० प्रतिशत रहेको ट्रम्पको लोकप्रियतामा यसै हप्ता ४ अङ्कको गिरावट आएको छ। सर्वेक्षणमा सहभागीहरूले इरानसँगको सैन्य द्वन्द्व र दैनिक उपभोग्य वस्तुको बढ्दो लागत प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । विशेष गरी फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त आक्रमणपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलरसम्म पुगेको छ, जसको प्रत्यक्ष असर अमेरिकी पेट्रोल पम्पहरूमा देखिएको छ ।

अमेरिकी जनतामाझ बढेको आर्थिक दबाब र जनआक्रोशले राष्ट्रपति ट्रम्पको लोकप्रियतामा गम्भीर धक्का पुर्‍याएको छ । सर्वेक्षणका अनुसार केवल २५ प्रतिशत अमेरिकीहरूले मात्र ट्रम्पको आर्थिक व्यवस्थापनमा भरोसा देखाएका छन्, जुन चुनावका बेला उनले गरेको मूल्यवृद्धि घटाउने वाचा विपरीत देखिएकाले उनको लागि ठुलो राजनीतिक चुनौती बनेको छ।

इरानसँगको युद्धका सम्बन्धमा ६१ प्रतिशत सहभागीहरूले कडा विरोध जनाएका छन्; मतदाताहरूको बुझाइमा ट्रम्प आफ्नो ‘अनावश्यक युद्धबाट टाढा रहने’ चुनावी एजेन्डाबाट विमुख भई सैन्य द्वन्द्वमा फसेका छन्। यद्यपि रिपब्लिकन पार्टीभित्र उनको पकड अझै पनि कायम छ, तर बढ्दो मुद्रास्फीतिका कारण असन्तुष्ट रिपब्लिकनहरूको सङ्ख्या २७ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुग्नुले उनको आफ्नै राजनीतिक आधारभित्र पनि असन्तोष चुलिँदै गएको सङ्केत गर्दछ।

इरानले हर्मुज जलसन्धि अवरुद्ध पारेपछि विश्वको २० प्रतिशत तेल आपूर्ति प्रभावित भएको छ। यसले गर्दा अमेरिकामा मात्र नभई एसिया र युरोपमा पनि ऊर्जा सङ्कट गहिरिएको छ। ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन र सञ्चारकर्मी टकर कार्ल्सन जस्ता ‘मागा’  अभियानका प्रमुख व्यक्तित्वहरूले समेत यो युद्ध अन्त्य गर्न ट्रम्पमाथि दबाब बढाउन थालेका छन्।

यस गिरावटले सन् २०२६ को अन्त्यमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई ठुलो धक्का लाग्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ। ह्वाइट हाउसले भने शान्ति वार्ताका प्रयासहरू भइरहेको र छिट्टै इन्धनको मूल्य स्थिर हुने दाबी गरेको छ । श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया