जीविकोपार्जन सुधारका लागि भैँसीपालन

नेपालखोज २०८२ चैत १२ गते ९:४७

अत्तरिया (कैलाली) । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए ।

उक्त कार्यक्रम सञ्चालनका लागि रु दुई करोड २५ लाख बजेट रहेको उनले जानकारी दिए । भैँसीपालनलाई प्रवद्र्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

उनले भने ‘भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पु¥याउने कार्यक्रमको उद्देश्य हो । यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुनेछन् ।’ कार्यक्रमअन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापनलगायतमा किसानलाई अनुदान दिइने छ ।

अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्नेछ । –रासस

प्रतिक्रिया