सुशासन, सेवा प्रवाह सुधार र पूर्वाधार निर्माणमा केन्द्रित हुन अर्थमन्त्री डा. वाग्लेको निर्देशन

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन प्रवद्र्धन, सेवा प्रवाहलाई सहज बनाउने र पूर्वाधार निर्माणलाई तीव्रता दिने कार्यलाई सरकारको प्रमुख प्राथमिकताका रूपमा अघि बढाइने बताएका छन् ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै कर्मचारीलाई निर्देशन दिने क्रममा उनले वर्तमान आर्थिक तथा प्रशासनिक चुनौतीलाई सम्बोधन गर्न नतिजामूलक ढङ्गले काम गर्नुपर्नेमा जोड दिए । ‘जिम्मेवारी निकै ठूलो छ, सामान्य ढङ्गले काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन, अब कामको गति बदल्नैपर्छ’, उनले भने ।
अर्थमन्त्री वाग्लेले राजनीतिक नेतृत्व स्पष्ट, पारदर्शी र स्वच्छ भए कर्मचारी संयन्त्रले स्वतः सहयोग गर्ने धारणा व्यक्त गरे । ‘राजनीतिक नेतृत्व धमिलो हुँदा कर्मचारीतन्त्र पनि प्रभावित हुन्छ, नेतृत्व राम्रो भयो भने संस्था आफैँ सुदृढ हुन्छ’, उनले उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले सुशासनका सवालमा कठोर हुनुपर्ने बताउँदै कानुन निर्माण मात्र पर्याप्त नभई त्यसको इमानदार कार्यान्वयन अनिवार्य रहेको धारणा व्यक्त गरे । ‘नागरिकले घुस ख्वाउन नपर्ने, लाइन बस्न नपर्ने अवस्था सिर्जना गर्नुपर्छ, सेवा प्रवाह सुधार वर्तमान सरकारको अत्यन्त महत्वपूर्ण एजेण्डा हो’, उनले स्पष्ट गरे ।
कर्मचारी व्यवस्थापनका सन्दर्भमा उहाँले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने तर जिम्मेवारी पूरा नगर्नेप्रति कडाई गरिने पनि बताए । ‘कर्मचारीको दलीयकरण र राजनीतिक आबद्धतालाई तोड्नुपर्छ’, उनले जोड दिए ।
अर्थतन्त्रको पुनरोत्थानका लागि २०५० को दशकमा गरिएको आर्थिक सुधारलाई स्मरण गर्दै उहाँले अब दोस्रो चरणको आर्थिक सुधार आवश्यक रहेको उल्लेख गरे । भौतिक पूर्वाधार निर्माण, विशेषगरी हवाई तथा स्थल ‘कनेक्टिभिटी’ विस्तारमा जोड दिइने उनको भनाइ छ ।

प्रतिक्रिया