चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

नेपालखोज २०८२ चैत १८ गते १६:०१

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार विसं २०७० वैशाख १ गतेदेखि विसं २०८२ फागुन मसान्तसम्मको अवधिमा देशभर तीन हजार ३८६ वटा चट्याङका घटना दर्ता भएका छन् । ती घटनामा कुल एक हजार ७३ जनाको ज्यान गएको छ। तीमध्ये ४६० पुरुष, ३०३ महिला र ३१२ जनाको पहिचान खुल्न सकेको छैन।

चट्याङबाट तीन हजार ४०८ जना घाइते भएका छन्। तीमध्ये एक हजार ३१७ पुरुष, एक हजार ६३३ महिला छन्। चार हजार २९४ परिवार चट्याङका कारण प्रभावित बनेका केन्द्रले जनाएको छ। साथै एक सय चार घरमा पूर्ण र तीन सय ९० घरमा आंशिक रूपमा क्षति पुगेको छ।

पूर्वाधारतर्फ एक सय १४ गोठमा क्षति पुगेको छ भने चार हजार ८४९ वटा पशुचौपायामा क्षति पुगेको छ। केन्द्रका अनुसार चट्याङका घटनाबाट कुल ११ करोड ८२ लाख १८ हजार २६० मूल्य बराबरको अनुमानित आर्थिक क्षति भएको वरिष्ठ हाइड्रोलोजिस्ट शर्माले जानकारी दिए।

विसं २०७० देखि २०८२ सम्मको अवधिमा मकवानपुरमा सबैभन्दा बढी १८२ वटा चट्याङका घटना दर्ता भएका छन्। उक्त जिल्लामा २१ पुरुष र २० महिला गरी ४१ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्। साथै तीन सय परिवार प्रभावित भएका छन्।

झापामा एक सय १३ घटना, उदयपुरमा एक सय चार, दैलेखमा एक सय पाँच र मोरङमा ९५ वटा घटना दर्ता भएका छन्। मानवीय क्षतिको हिसाबले मकवानपुरमा सबैभन्दा बढी ७५, मोरङमा ४२ र उदयपुरमा ३९ जनाको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

पूर्वी पहाडी जिल्लामा पनि चट्याङको प्रभाव उल्लेखनीय देखिएको केन्द्रको भनाइ छ। खोटाङमा ९२, संखुवासभामा ८६ र ओखलढुङ्गामा ७६ वटा घटना दर्ता भएका छन्। यसले यी क्षेत्रमा चट्याङको निरन्तर जोखिम देखाएको छ। मधेश प्रदेशअन्तर्गत सप्तरी, सिराहा, धनुषा, पर्सालगायत जिल्लामा दर्जनौँको मृत्यु भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको विवरणमा उल्लेख छ।

पश्चिम नेपालतर्फ रोल्पामा ९१, गुल्मीमा ७२, प्युठानमा ७२  र अछाममा ७३ वटा घटना दर्ता भएका छन्। आर्थिक क्षतिमा झापामा सबैभन्दा बढी करिब एक करोड सात लाख मूल्य बराबरको क्षति भएको छ भने खोटाङ, उदयपुर र संखुवासभामा पनि बढी नोक्सानी भएको  छ।

यसैबीच, विज्ञहरूले मनसुन र प्रि–मनसुन अवधिमा चट्याङका घटना बढी हुने भएकाले सचेतना अभिवृद्धि र सुरक्षात्मक उपाय अपनाउन जोड दिएका छन्।

वार्षिक औसत ६७ जनाको मृत्यु

विसं २०७९ देखि विसं २०८१ सम्मको तथ्यांक विश्लेषण गर्दा चट्याङबाट वार्षिक औसत रूपमा ६७ जनाको मृत्यु हुने गरेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकले देखिएको छ। गृह मन्त्रालयको तथ्यांकअनुसार विसं २०७७ मा दुई दुई ४८ वटा घटना हुँदा ७० जनाको मृत्यु र दुई सय ४८ जना घाइते भएका थिए। विसं २०७८ मा घटनाको संख्या दुई सय तीनमा झरेकामा ती घटनामा ५६ जनाको मृत्यु र एक सय ७९ जना घाइते भएका थिए।

वरिष्ठ हाइड्रोलोजिष्ट शर्माका अनुसार विसं २०७९ मा दुई सय ९० घटना दर्ता हुँदा ८४ जनाको मृत्यु, दुई सय ३८ जना घाइते, विसं २०८० मा दुई सय ४७ घटनामा ४४ को मृत्यु र दुई सय २८ घाइते, विसं २०८१ मा चार सय ३६ घटना हुँदा वर्ष ७९ जनाको मृत्यु र तीन सय २२ जना घाइते भएका छन्। विसं २०८२ को वैशाखदेखि चैत्र १४ गतेसम्मको अवधिमा चार सय ४१६ घटना हुँदा ४७ को मृत्यु र तीन सय सात जना घाइते भएका उनले जानकारी दिए।

यसैबीच, जल तथा मौसम विज्ञान विभागको प्रवक्ता एवं मौसमविद् विभूती पोखरेलले हावाहुरी चलिरहेको तथा चट्याङ परिरहेको समयमा घरबाहिर ननिस्कन सबैलाई आग्रह गरे। विभागका मौसमविद् गोविन्द झाले चट्याङ आउन लागेको छ कि छैन भनेर सर्वसाधारणले केही स्पष्ट प्रारम्भिक संकेतबाट पहिचान गर्न सक्ने बताए।

उनका अनुसार अस्थिर वायुमण्डल, दिउँसो गर्मी बढ्नु र विस्तारै कालो बादल लाग्नु, बादल तीव्रगतिमा सर्नु र अचानक चिसो हावा चल्नु चट्याङको प्रमुख संकेत हुन्।

टाढाबाट गड्याङगुडुङको आवाज सुन्नु पनि चट्याङ आगमनको स्पष्ट संकेत रहेकाले आवश्यक सावधानी अपनाउनुपर्नेमा मौसमविद् झाले जोड दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आकाशमा बिजुली चम्किन थाली गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर वा संरचना भए भित्र जानुपर्ने जनाएको छ।

के हो चट्याङ ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकका अनुसार चट्याङ बादलदेखि जमिनमा बग्ने ठूलो मात्राको विद्युतीय करेन्ट हो । फरक उचाइमा रहेका र विपरीत चार्ज रहेका बादलहरू नजिक पुगेर एक्कासी विद्युत् प्रवाह हुँदा ठूलो मात्रामा शक्ति उत्पन्न हुँदा चर्को आवाज र आगोसहितको विद्युतीय तरङ्ग पृथ्वीको सतहमा आउँदा चट्याङको जोखिम हुन्छ । बस्ती, वन बुट्यान र भौगोलिक परिवेशले चट्याङका घटना र विपद् जोखिम निर्धारण गर्दछन् तापनि मूलतः यो एक दुर्घटना हो । चट्याङका कारण विशेषगरी खुला क्षेत्रमा काम गर्ने किसान, मजदुर र पशुपालकको ज्यान जाने गरेको छ । अग्ला भवन, विद्यालय, अस्पताल, सपिङ मल, विद्युत तथा टेलिफोन लाइनजस्ता भौतिक पूर्वाधार संरचनामा चट्याङ निवारक प्रविधि जडान गरेर जनधनको क्षति कम गर्न सकिन्छ ।

चट्याङबाट बच्न पूर्वतयारी र सावधानी अपनाउन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशन गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी हाते पुस्तकले चट्याङबाट हुने जोखिम घटाउन समयमा पूर्वतयारी र सचेतना अपनाउन सबैलाई आग्रह गरेको छ । प्राधिकरणले आधिकारिक निकायबाट जारी हुने पूर्वसूचना र जानकारीलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएको हो । हाते पुस्तकअनुसार चट्याङका बेला सुरक्षित स्थान र व्यवहारबारे अग्रिम जानकारी राख्नु आवश्यक छ । यसबारे घरपरिवार, छिमेकी तथा समुदायमा छलफल गरी सचेतना फैलाउनुपर्ने उल्लेख गरिएको छ । विद्यालय, कलेज तथा टोलस्तरमा समेत चट्याङबाट जोगिने अभ्यास सञ्चालन गर्न सुझव दिएको छ । घरवरिपरि रहेका अग्ला रुखहरू हटाउने वा होचो बनाउने साथै घरको विद्युतीय प्रणालीमा गुणस्तरीय अर्थिङ व्यवस्था गर्नुपर्ने जनाइएको छ । अर्थिङले चट्याङको करेन्टलाई जमिनमा सुरक्षित रूपमा प्रवाह गर्न मद्दत गर्दछ । चट्याङ सक्रिय हुने समयमा अनावश्यक रूपमा विद्युतीय उपकरण प्रयोग नगर्न र जोखिमयुक्त क्षेत्रमा भीड नगर्न पनि आग्रह गरिएको छ ।

घरबाहिर हुँदा अपनाउनुपर्ने सावधानी

चट्याङ परिरहेका बेला बाहिर परेमा तत्काल सुरक्षित भवनभित्र पस्नुपर्ने सुझाव दिइएको छ । रुख, बिजुलीका पोल वा टावर नजिक बस्न नहुने, छाता प्रयोग नगर्नु पर्ने तथा खेतबारीमा काम गरिरहेको अवस्थामा काम रोकी सुरक्षित स्थानमा जानुपर्ने उल्लेख गरिएको छ । सुरक्षित ओत उपलब्ध नभएमा शरीरलाई सानो बनाएर घुँडा समातेर बस्नुपर्ने, समूहमा भए अलगअलग र टाढा बस्नुपर्ने बताइएको छ । खोला, पोखरी वा स्वीमिङ क्षेत्रमा रहेमा तुरुन्त बाहिर निस्कन र माछा मार्ने वा र्‍याफ्टिङजस्ता गतिविधि नगर्न पनि सचेत गराइएको छ । त्यस्तै, साइकल वा मोटरसाइकलमा यात्रा गरिरहेको अवस्थामा सवारी साधन रोकी ओर्लनुपर्ने र धातुका वस्तु नछुनुपर्ने सुझाव दिइएको छ ।

घरभित्र हुँदा के गर्ने ?

प्राधिकरण वरिष्ठ हाइड्रोलोजिष्ट शर्माले घरभित्र रहँदा झ्यालढोका बन्द गरी सुक्खा स्थानमा बस्नुपर्ने, तारयुक्त टेलिफोन प्रयोग नगर्नुपर्ने तथा सकेसम्म मोबाइल फोनसमेत प्रयोग नगर्न सुझाव दिएका छन् । उनका अनुसार चार्जमा रहेका विद्युतीय उपकरणहरू हटाउने, टिभी, कम्प्युटरजस्ता उपकरण बन्द गरी प्लग निकाल्नुपर्छ । -रासस

प्रतिक्रिया