गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

नेपालखोज २०८२ चैत २० गते १५:०८

देवघाटधाम (तनहुँ) । तनहुँको सुप्रशिद्ध एवं पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्तबारे जानकारी दिने २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ ।

गलेश्वर धामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले शुक्रबार गलेश्वर धाममा आयोजित एक कार्यक्रमबीच भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

भित्तेपात्रो सार्वजनिक गर्न आयोजित समारोहमा बोल्दै स्वामी महाराज गिरिजीले उक्त भित्तेपात्रो अग्नि, रुद्री, विवाह, ब्रतबन्ध, पास्नी जस्ता शुभकार्य लगायत व्यापार व्यवसाय सुरु गर्ने/खोल्ने, गृह निर्माण, गृह प्रवेश जस्ता शुभ मुहुर्तदेखि लिएर सम्पूर्ण तिथिमिति सर्वसाधारणले समेत सजिलै छुट्ट्याउन सक्ने गरी तयार गरिएको बताए ।

उक्त भित्तेपात्रो कुन दिन, कुन तिथि कति घडी र कति पलासम्म कायम छ भन्ने कुरा पनि सजिलै छुट्टयाउन सकिने गरी तयार गरिएको छ । पवित्र तीर्थस्थल गलेश्वर आश्रमको महिमा झल्काउने खालका तस्बिरहरु भित्तेपात्रोमा प्रयोग गरिएको छ ।

गलेश्वर आश्रमले २०८३ माघ १ गतेबाट एक महिना लामो अवधिको लक्ष्यचण्डी विराट महायज्ञ गर्न लागेको छ । कलियुगमा भगवती महामाया चण्डी एवं भगवान श्रीगणेशको उपासना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि र राष्ट्रको अभ्युदय प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यताको अनुसरण गर्दै आश्रमले उक्त महायज्ञ आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया