विदेशस्थित नेपालीको योगदान उच्च, ठूला लगानी र नीतिगत सहकार्य आवश्यक : परराष्ट्रमन्त्री

नेपालखोज २०८२ चैत २० गते १८:२५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेको छ । मन्त्रालयमा भएको उक्त भेटका क्रममा परराष्ट्रमन्त्री खनाललाई बधाई तथा शुभकामना दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ ।

अध्यक्ष डा. हेमराज शर्माले परराष्ट्रमन्त्री खनालसँगको भेटमा विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र सुविधा सुनिश्चित गर्न पहल गर्नुपर्नेमा जोड दिए । अध्यक्ष शर्माले भने, ‘विदेशमा रहेका नेपालीहरूले आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदान पु¥याउन सक्ने क्षमता राख्छन् र त्यसका लागि सहजीकरण आवश्यक छ ।’ उनले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्यन गर्न, र यस सम्बन्धी कानुनी र संवैधानिक पहल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले अध्यागमन, सम्पत्ति, बैंकिङ, सवारी साधन, राष्ट्रिय परिचयपत्र तथा मताधिकारसम्बन्धी अधिकारहरू प्रभावकारी रूपमा कार्यान्यन गरिनु पर्नेमा जोड दिए । साथै, विदेशमा समस्यामा परेका नेपालीहरूको सहायताका लागि दूतावासको जनशक्ति वृद्धि, नयाँ दूतावास स्थापना र कानुनी सहायता प्रणाली निर्माण गर्न आग्रह गर्नुभयो। अध्यक्ष शर्माले संघको तर्फबाट नेपालको विकास र विदेशमा रहेका नेपालीहरूको हितमा सरकारसँग सहकार्य गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले वर्तमान सरकारको सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणको उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरूले साथ् र सहकार्य गर्न सक्ने उल्लेख गरे । अध्यक्ष महतोले भने, “सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा आफ्नै स्रोतबाट सहज तरिकाले काम गर्न सक्ने भए पनि समृद्ध नेपाल बनाउन ठूला लगानी, ज्ञान,, सिप र प्रबिधि आवश्यक पर्ने भएकाले विदेशमा रहेका नेपाली समुदायको अनुभव, ज्ञान र योगदान अत्यन्तै महत्वपूर्ण छ ।“

उनले थप भने, ‘विदेशमा रहेका नेपालीहरूले सधैं मनमा नेपाललाई समृद्ध बनाउने सपना बोकेर काम गर्दै आएका छन् । परराष्ट्र मन्त्रालय हाम्रो सम्बन्धित मन्त्रालय भएकाले हामी जिम्मेवारी बुझिसकेका छौं र नेपाललाई समृद्ध बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न आजको भेटमा आएको हौँ ।’ अध्यक्ष महतोले ९० देशमा रहेका नेपालीहरूको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्नुपर्नेमा जोड दिए ।

भेटमा मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्था गत सहकार्यमा जोड दिएका छन् । भेटका क्रममा मन्त्री खनालले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उक्त योगदानप्रति आभार व्यक्त गरे । ‘यस पटक देशमा भएको परिवर्तनमा विदेशमा रहेका नेपालीहरूको ठूलो योगदान छ भन्ने कुरा स्पष्ट रूपमा हाम्रो नेतृत्व तहमा स्थापित छ,’ उनले भने ।

आर्थिक समृद्धिका लागि विदेशस्थित नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले ठूला लगानी परियोजनामा ध्यान केन्द्रित गर्न आग्रह गरे । “सानातिना लगानीभन्दा देशलाई रूपान्तरण गर्ने ठूला परियोजनामा सहकार्य आवश्यक छ,” उनले भने । मन्त्री खनालले सेवा क्षेत्रमा पनि संस्थागत पहल आवश्यक रहेको औंल्याउँदै विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन भइरहेको सहयोगलाई व्यवस्थित बनाउन कोष स्थापना गर्ने प्रस्ताव अघि सारेका छन् ।

मन्त्री खनालले एनआरएनएले उठाउँदै आएका विभिन्न एजेन्डाहरूलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै अब तिनलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । नागरिकता सम्बन्धी विषयमा स्पष्ट रूपमा सकारात्मक रहेको भएपनि केही कानुनी जटिलताका कारण थप अध्ययन र आवश्यक कानुन संशोधनको आवश्यक हुन सक्ने उल्लेख गरे ।

त्यस्तै, उनले पोर्चुगलमा रहेका नेपालीहरूको समस्यालाई लिएर मन्त्रालयले मानवीय आधारमा पहल गरिरहेको जानकारी दिए । प्राविधिक कठिनाइ हुँदाहुँदै पनि मानवीय दृष्टिकोणबाट समाधान खोज्न सम्बन्धित देशसँग संवाद भइरहेको उनको भनाइ थियो ।
विदेशमा रहेका नेपालीलाई सेवा प्रदान गर्ने सन्दर्भमा मन्त्रालयको स्रोत सीमित रहेको स्वीकार गर्दै उहाँले भेटमा एनआरएनए पदाधिकारीहरूले नागरिकता, लगानी, श्रम आप्रवासन र विदेशस्थित नेपालीहरूको सुरक्षासम्बन्धी विषय उठाएका थिए । दुवै पक्षबीच आगामी दिनमा सहकार्य र समन्वयलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ ।

युरोपियन सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमान्त्रण
सोही अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जून २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७ औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया