अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित वुद्ध ब्वाईज होस्टेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही होस्टेलमा बस्ने झापा घर भएका २७ वर्षीय अभिषेक भारतीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा कटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय शिवराज विक समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनकुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–१८ कटान बस्ने २१ वर्षीय निशाज डगौरा र बेलडाँडी गाउँपालिका–१ रतनपुर बस्ने २२ वर्षीय प्रकाश डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले बैबाहबाट सिमलडाँडीतर्फ आउँदै गरेको सु.प.प्र.०२००३ प ८७०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भेरीगंगा नगरपालिका–१३ रामघाट बस्ने ३३ वर्षीय शिखर विक र दाङ घोराही उपमहानगरपालिका–१४ ढोडेरी गुम्बा बस्ने २७ वर्षीय प्रबिन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ हरैँचा मोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ३० मिलिग्राम सहित उर्लाबारी नगरपालिका–३ मंगलबारे बस्ने २४ वर्षीय निरज ठकुरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका–५ नयाँ बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका–८ गरामनी बस्ने २८ वर्षीय किरण श्रेष्ठ समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
कैलालीको टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने ४३ वर्षीय लाल बहादुर थापाको खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा लाल बहादुर समेत ९ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ७ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित पोखरा होम्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१ बगर बस्ने ५२ वर्षीय सुक बहादुर श्रेष्ठ समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
रोल्पाको थवाङ गाउँपालिका–१ रिखोलास्थित सडकमा रा.१ त ३८३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बेलुकी दुर्घटना हुँदा चालक दाङ घोराही उपमहानगरपालिका–४ भागरे बस्ने २१ वर्षीय सामिल विकको घटनास्थलमै मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–३ नगरवनमार्गस्थित सडकमा बा.प्र.०६–००१ ख ०४९२ नम्बरको बसको ठक्करबाट भारत अमरावती अन्जनगाउँ बस्ने प्रेम घोस्लेको छोरा १० वर्षीय इरेस घोस्लेको गए राति मृत्यु भएको छ । बसका सहचालकले बस पार्किङको लागि ब्याक गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बसका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोटको बिदुर नगरपालिका–२ भैरबी बोटोल बजारस्थित सडकमा प्र.३–०२–००७ प ९७३३ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा स्कुटर चालक लिखु गाउँपालिका–१ खानिगाउँ बस्ने ३५ वर्षीय ईन्द्र बहादुर थापा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिशुली अस्पताल नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।
लमजुङको मस्र्याङदी गाउँपालिका–७ स्थित सडकमा ग.१ ज ६४७० नम्बरको जिप शनिबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार मस्र्याङदी गाउँपालिका–७ उस्ता बस्ने ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरूङ र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रदेश अस्पताल लम्जुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार चालक समेत ४ जनाको प्रदेश अस्पताल लम्जुङमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन र १ जनालाई विएण्डवी अस्पताल काठमाडौं रिफर गरिएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–५ बाँसवारीस्थित सडकमा मे.६ प ५९४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री कानेपोखरी गाउँपालिका–५ बस्ने ६० वर्षीय नरेश काफ्लेको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार ३ जनाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
भुम्लु गाउँपालिका–१० नौले गाउँ बस्ने ३१ वर्षीया सानु माया माझी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया