सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया (कैलाली) । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।
आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवले जानकारी दिए ।
पुस्तक बिक्रीबाट रु तीन करोड ७४ लाख ७० हजार बराबरको कारोबार गरिएको उनले बताए । कार्यालय प्रमुख यादवले हालसम्म पहाडी जिल्ला बाजुरा, दार्चुला, अछाम र बझाङमा पाठ्यपुस्तक ढुवानी गरिएको र यही चैत ३० गतेभित्र प्रदेशका नौ वटै जिल्लामा पुस्तक पु¥याउने योजना रहेको बताए ।
केन्द्रले चैत १६ गतेबाट पुस्तक बिक्रीवितरण सुरु गरेको छ । ‘हाल दुर्गम ठाउँमा ढुवानी गरिरहेका छौँ । शैक्षिकसत्र सुरु हुनुअगावै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउँछौँ’, उनले भने, ‘पाठ्यपुस्तक अभाव छैन् । सबै ठाउँमा समयमै पाठ्यपुस्तक पुग्छ । सोहीअनुसार काम भइरहेको छ ।’ कार्यालय प्रमुख यादवका अनुसार केन्द्रले आगामी शैक्षिकसत्रका लागि प्रदेशभरि साढे १६ लाख थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ ।
जनक शिक्षाले कक्षा ३ र ५ तथा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक बिक्रीवितरण गर्नेे गरेको छ । चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ३ देखि १२ सम्म १६ लाख २९ हजार २६३ थान पाठ्यपुस्तक बिक्री गरेको तथा रु २१ करोड ९३ लाख ७३ हजार ४९४ बराबरको कारोबार गरेको जनाइएको छ । -रासस

प्रतिक्रिया