सरकारले सेयर बजारमा सम्पत्ती सुद्धिकरणको छानबिन गर्दैन, नेपालको सेयर बजार पारदर्शी छ : अर्थमन्त्री वाग्ले

नेपालखोज २०८२ चैत २३ गते १८:३०

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन् ।

यद्यपी, शेयर बजारमा सम्पत्ती सुद्धिकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाई छ । शेयर बजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ती सुद्धिकरण छानबिन गर्नेतर्फ सरकार नरहेको उनको भनाई छ। यहीकारण, लगानीकर्ता आत्तिनु नपर्ने वाग्लेले बताए ।

स्टक मार्केटबारे बोल्दै उनले बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता व्यक्त गरे । ‘सरकारले अघि बढाएको सम्पत्ती सुद्धिकरणसम्बन्धी अनुसन्धानलाई देखाउँदै केही समूहले चलखेल गर्न खोजेको छ,’ वाग्लेले थपे, ‘तर पनि इनसाइडर ट्रेडिङ’ गर्ने र नियम विपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ ।’

तर, शेयर बजारमा भएको लगानीको वैद्यता खोज्नेबारे अहिले नै सरकारले छलफल नगरेको वाग्लेको भनाई छ । ‘शेयर बजारमा आएको लगानी वैद्य र अवैद्य भनेर अनुसन्धान सुरु भएको छैन । किनकी, शेयर बजारमा चेक र बैंकिङ्ग माध्यमबाट कारोबार हुन्छ,’ उनले थपे । सोहीकारण, शेयर लगानीकर्ताले आत्तिनु नपर्ने बताउँदै सरकार बन्नुअघि र बनिसकेपछि शेयर बजार घट्नुपर्नेगरी अर्थतन्त्रमा व्यापक परिवर्तन आइनसकेको बताए ।

यस्तै, मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै सरकारले आवश्यक सावधानी अपनाएको उल्लेख गर्दै उनले सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको जानकारी दिए ।

युद्धग्रस्त देशमा रहेका २५ लाख नेपालीलाई स्वदेश फर्काउने भन्दा पनि समस्या परेका नेपालीलाई प्राथमिकताका साथ उद्धार गर्ने काम भइरहेको उनको भनाई छ । अर्थमन्त्री वाग्लेले सरकारले अनावश्यक तामझामका साथ कारबाही नगर्ने तर वर्षौंदेखि अनुसन्धान भएर थन्केका मुद्दाहरूलाई अगाडि बढाइएको स्पष्ट पारे । नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन पनि सरकारले सम्पत्ती सुद्धिकरणबारे अनुसन्धान सुरु गर्नुपरेको जानकारी दिए ।

सरकारको नीति राजनीतिक सुशासनसँगै आर्थिक सुशासन कायम गर्ने भएकाले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुने बताए । यसैगरी, सरकारी स्वामित्वका संस्थानहरूको व्यवस्थापनबारे बोल्दै उनले गोरखकाली लगायत केही संस्थाहरूलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको र यसलाई आगामी बजेटमा समेटिने बताए ।

त्यसक्रममा नाफिज अध्यक्ष मेनुका कार्कीले अर्थतन्त्र बारे जानकार व्यक्ती मन्त्रालयमा आउँदा देशले आर्थिक विकासमा फड्को मार्ने अपेक्षा चौतर्फी रहेको बताइन् । उनले सरकारले प्रत्येक वर्ष ठूलो आकारको बजेट ल्याउने र कार्यान्वयन फितलो हुने समस्या रहेको हुँदा अर्थतन्त्रबारे जानकार मन्त्रीले यसबारे सोचविचार गर्नुपर्ने बताइन् ।

यस्तै, राजस्व संकलनको लक्ष्य एकातिर र संकलनको तथ्यांक अर्कोतिर हुने गरेको विगतको परिपाटीलाई समेत चिर्नुपर्ने उनको भनाई थियो । यसबाहेक, अर्थमन्त्रालय र नाफिजबीच विगतदेखि नै सहकार्य भइरहेको हुँदा देशको समग्र आर्थिक विकासमा सहकार्य गरेर अघि बढ्न नाफिज तत्पर रहेको अध्यक्ष कार्कीको भनाई छ ।

प्रतिक्रिया