मुग्लिन–मलेखु सडकखण्डः घोप्टे भिरको भित्तो काटियो

नेपालखोज २०८२ चैत २४ गते १७:०८

चितव । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो काट्ने काम सम्पन्न भएको छ । छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार घोप्टे भिरको दुई सय ५० मिटर लामो सडकको छेउको भित्तो काटिएको हो । यहाँ करिब ५० मिटर माथिबाट भित्तो काटेर सडक थप चार मिटर फराकिलो बनाइएको छ ।

भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ । यही चैत १७ देखि २२ गतेसम्म राति १०ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक आवागमन रोकेर काम गरिएको थियो । त्यस क्रममा तीनवटा एक्साभेटर, दुई वटा लोडर, १० वटा टिप्पर र सोही अनुपातमा जनशक्ति परिचालन गरिएको सूचना अधिकारी मिश्रले बताए ।

यस्तै, मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिए । एकैपटक लामो समय सडक रोक्न गाह्रो हुने भएकाले थप भित्तो काट्ने काम सकिएपछि यहाँ पनि काम गरिने मिश्रको भनाइ छ ।

समग्रमा यहाँ सडक विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ । हाल कालोपत्र गर्ने, कालोपत्रको तयारी, नाला बनाउने, पर्खाल लगाउने जस्ता काम भइरहेका उनले बताए । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडकको ठेक्का सम्झौता भएको थियो । समयमा काम नसकिएपछि छ महिना म्याद थप गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा खण्डलाई तीन चरणमा बोलपत्र आह्वान गरिएको हो ।

हाल काम भइरहेको क्षेत्र तेस्रो चरणअन्तर्गत पर्दछ । उक्त खण्डमा ३८ दशमलव ८६ किलोमिटर सडक पर्दछ । यस खण्डमा पर्ने मलेखु, बेनीघाट र मुग्लिनमध्ये दुई दशमलव दुई किमी छ लेन सडक बन्नेछ । सात दशमलव दुई किमी सडक चार लेनको हुनेछ । चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्दछ । दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने छ ।

‘क्लाइम्बिङ’ मार्ग दुई दशमलव तीन किमीको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ । शर्मा–जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्डमा स्तरोन्नतिको काम गरिरहेको छ । सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ । विश्व बैङ्कको सहयोगमा बनाउन लागिएको यो सडक काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको छ ।

प्रतिक्रिया