मोनालिशा ‘द गिफ्ट अफ चेस’की दूत नियुक्त

काठमाडौं । संयुक्त राष्ट्र सङ्घको मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि दूत’ नियुक्त गरेको छ ।
न्यूयोर्क मुख्यालय रहेको सो संस्थाले आफ्नो ‘अफिसियल’ सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राम अकाउन्टमार्फत् आज खम्बूलाई दूत नियुक्त गरिएको घोषणा गरेको हो ।
सो घोषणासँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तरराष्ट्रिय संस्थाको पहिलो दूत बनेकी छन् । बोर्डभित्र र बाहिरको उपलब्धिका लागि खम्बूलाई दूत चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ ।
उनको चेसमा दुई दशक बढी यात्राको कथा पोष्ट गर्दै गिफ्ट अफ चेसले खम्बूको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा एक हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ । २०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा छ ।
उक्त संस्थाले ७० देशमा दुई लाख चेस सेट वितरण गरिसकेको जनाएको छ । खम्बू महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हईएस्ट रेटेड खेलाडी (फिडे रेटिङ १८७७), पहिलो इन्टरनेसनल आबिर्टर (आईए) हुन् ।
१४ वर्षकी छँदै एसियन गेम्स (सन् २००६ दोहा)मा देशको प्रतिनिधित्व गरेकी उनले एसियन गेम्स दुई पल्ट, इन्डोर एसियन गेम्स तीन पल्ट, चेस ओलम्पियाड तीन पल्ट खेलेकी छन् ।
उनी चेस ओलम्पियाड (सन् २०२२ चेन्नाई) मा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुन् । नेपाल चेस महासङ्घमा उपमहासचिव रहेकी उनी विश्व चेस महासङ्घको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुन् ।
दुई वर्षअघि स्थापना भएको हिमालयन चेस एकेडेमीमार्फत २०० भन्दा बढीले प्रशिक्षण लिइसकेका छन् ।

प्रतिक्रिया