मेटलाइफ फाउन्डेशनद्वारा नेपालका गैर–सरकारी संस्थाहरूलाई अनुदान प्रदान

नेपालखोज २०८२ चैत २६ गते १६:००

काठमाडौं । मेट लाईफ इन्स्योरेन्सको मेटलाइफ फाउन्डेशनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम (सीआईजीपी) का नयाँ लाभग्राहीहरूको घोषणा गरेको छ । यस कार्यक्रममार्फत मेटलाइफ फाउन्डेशनले नेपालसहित विभिन्न देशका गैर(नाफामुखी संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्दैछ ।

यस कार्यक्रमले समुदायका आधारभूत आवश्यकताहरू सम्बोधन गर्ने संस्थाहरूलाई समर्थन गर्दछ । महत्वपूर्ण समस्याहरू समाधान गर्दै, मानिसहरूले आफ्नो आर्थिक स्वास्थ्य र दिगोपन निर्माण गर्न आवश्यक सेवा र स्रोतहरू उपलब्ध गराउने संस्थाहरूलाई सहयोग प्रदान गरिन्छ ।

यसले मेटलाइफ र मेटलाइफ फाउन्डेशनको समुदायलाई आत्मविश्वासका साथ अगाडि बढ्न र अवसरहरूमा पहुँच बढाउन मद्दत गर्ने दीर्घकालीन प्रतिबद्धतालाई झल्काउँछ ।

सन् २०२३ मा सुरु गरिएको यो कार्यक्रम सन् २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको हो । यसले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य तथा समग्र कल्याण, वातावरणीय दिगोपन, र सशक्त समुदाय निर्माणमा केन्द्रित समाधानहरू प्रदान गर्ने संस्थाहरूलाई सहयोग गर्दछ ।

यस वर्ष, विश्वभरका १०० भन्दा बढी संस्थाहरूलाई अनुदान प्रदान गरिएको छ, जसमा नेपालको सोलुखुम्बुको सोलुचामको अवेक परियोजनालाई दुई वर्षका लागि एक लाख १० हजार अमेरिकी डलर अनुदान प्रदान गरिएको छ ।

यस परियोजनामार्फत सोलुखुम्बुका तीन हजार भन्दा बढी व्यक्तिहरूलाई वातावरणसम्बन्धी तालिम प्रदान गरिने छ, जसमा फोहोर व्यवस्थापन, वृक्षारोपण, तथा पानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमहरू समावेश छन् ।

यसैगरी सोसेक नेपालको सेफ कार्यक्रमलाई दुई वर्षका लागि एक लाख ९० हजार अमेरिकी डलर सहयोग प्रदान गरिएको छ । यस कार्यक्रमले किसान, युवा र साना व्यवसायहरूका लागि दीर्घकालीन खाद्य सुरक्षा सुदृढ बनाउन सुधारिएको कृषि अभ्यास, सीप विकास, आर्थिक दिगोपन र स्वास्थ्य सेवाको एकीकरणमार्फत सहयोग पु¥याउनेछ ।

मेटलाइफ फाउन्डेशनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र मेटलाइफमा कर्पोरेट गिभिङ तथा कर्मचारी स्वयंसेवा प्रमुख टिया होजेसले भनिन, “कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राममार्फत, मेटलाइफ फाउन्डेशनले व्यक्तिहरू र समुदायको समग्र कल्याण सुधार गर्ने संस्थाहरूमा लगानी गरिरहेको छ । हामी मिलेर व्यक्ति र परिवारलाई चुनौतीहरू पार गर्न र अझ स्थिर तथा सक्षम बन्न सहयोग गर्दैछौं ।”

अघिल्ला वर्षहरूजस्तै, यस पटक पनि मेटलाइफका कर्मचारीहरूले अनुदान छनोट प्रक्रियामा सहभागिता जनाउँदै विभिन्न संस्थाहरूबाट प्राप्त आवेदनहरूको समीक्षा गरेका थिए । कार्यक्रम सुरु भएदेखि हालसम्म, २०७ संस्थाहरूलाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी अनुदान प्रदान गरिएको छ, जसबाट अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्यपूर्वका १.६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन् ।

यो कार्यक्रम मेटलाइफ फाउन्डेशनको समावेशी आर्थिक अवसर विस्तार, आर्थिक स्वास्थ्य प्रवद्र्धन, र मेटलाइफ सञ्चालन भएका समुदायहरूलाई सशक्त र दिगो बनाउन सहयोग गर्ने व्यापक प्रतिबद्धताको महत्वपूर्ण हिस्सा हो ।

प्रतिक्रिया