नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै

नेपालखोज २०८२ चैत २६ गते १९:१९

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ ।

चालु आर्थिक वर्षभित्रै महानगरपालिकाभित्रका २० सामुदायिक विद्यालयका छात्रछात्राको आँखा परीक्षण गरी निःशुल्क चश्मा र औषधि वितरण गरिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले जानकारी दिए ।

अस्पतालको ५२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त कार्यक्रमका लागि अस्पताल र महानगरपालिकाबीच सम्झौता भइसकेको बताइन् । 

‘देशको आँखा उपचार सेवामा पहुँच विस्तार र गुणस्तरीय सेवा प्रदान गर्दै आएको नेपाल आँखा अस्पतालमार्फत् सामुदायिक विद्यालयका २० हजार छात्रछात्राको आँखा परीक्षणका लागि महानगरपालिकाले सम्झौता गरेको छ,’ उनले भनिन् ।

आगामी शैक्षिकसत्र सुरु भएसँगै सञ्चालन हुने सो कार्यक्रमका लागि महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने जनाइएको छ । गत आर्थिक वर्षमा पनि अस्पतालले १० हजार ६६६ जना विद्यार्थीको निशुल्क आँखा परीक्षण गरी चश्मा र औषधि वितरण गरेको थियो ।

अस्पतालले गत आर्थिक २०८१–८२ मा बहिरंग र आपत्‌कालीन सेवासहित एक लाख ९३ हजार ७९८ बिरामीको आँखा परीक्षण गरेको थियो । सो आर्थिक वर्षमा आँखा अस्पतालले १० हजार ६७४ जनाको आँखाको शल्यक्रिया गरेको थियो ।

नेपाल आँखा अस्पतालले आफनो सिमरा, गोकर्णेश्वर, खोकना र भच्याकमा रहेको दृष्टिकेन्द्रमार्फत स्थानीयलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले पछिल्ला वर्षमा अस्पतालमा बिरामीको संख्यामा उल्लेखनीय वृद्धि भएको जनाउँदै एकै दिन ८२ वटासम्म शल्यक्रिया गरिएको जानकारी दिए ।

अस्पतालले आँखा उपचारमा अन्तर्राष्ट्रिय जगत्‌मा प्रयोग भएका नवीनतम प्रविधि भित्र्याएको उनले जानकारी दिए । उपकरण व्यवस्थापनमा अस्पतालको खर्च वृद्धि भएपनि बिरामीसँग लिइने शुल्क वृद्धि नगरिएको उनको भनाइ छ ।

प्रतिक्रिया