पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै : प्रतिवेदन

नेपालखोज २०८२ चैत २७ गते १७:२३

पेरिस । युरोपेली सङ्घको जलवायु निगरानी निकायले जनाएको अनुसार मार्च महिनामा महासागरको तापक्रम झण्डै रेकर्ड स्तरमा पुगेको छ ।

यसले पृथ्वीको तापक्रम झन् बढाउने सम्भावना भएको सङ्केत गरेको छ, जसले अत्यधिक गर्मी र चरम मौसम अवस्था बढाउन सक्छ । प्रतिवेदन अनुसार मार्च महिनामा समुद्री सतहको औसत तापक्रम करिब २० दशमलव ९७ डिग्री सेल्सियस पुगेको थियो, जुन उक्त महिनाका लागि दोस्रो उच्च स्तर हो ।

विज्ञहरूका अनुसार यस्तो तातो चक्रले प्रशान्त महासागरको पानी तातो बनाउँछ र यसले विश्वव्यापी तापक्रम वृद्धि तथा चरम मौसम निम्त्याउन सक्छ । हाल चिसो चक्र क्रमशः समाप्त हुँदै सामान्य अवस्थामा जाने र त्यसपछि फेरि तातो चक्र सुरु हुने अनुमान गरिएको छ । वैज्ञानिकहरूले यी चक्रहरू प्राकृतिक भए पनि मानव गतिविधिका कारण बढ्दो दीर्घकालीन तापक्रमसँग मिलेर अझ गम्भीर असर पार्ने बताएका छन् ।

महासागरहरूले मानवद्वारा उत्सर्जित तापको ठूलो हिस्सा सोस्ने भएकाले पृथ्वीको जलवायु सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छन् । समुद्रको तापक्रम बढ्दा शक्तिशाली आँधीबेहरी, भारी वर्षा, समुद्री सतह बढ्ने जस्ता असर देखिन सक्छन् । साथै, यसले दीर्घकालीन रूपमा समुद्री सतहको उचाइ बढाउन पनि योगदान पुर्‍याउँछ ।

यसैबीच, उक्त निकायले मार्च महिना विश्वकै चौथो सबैभन्दा तातो महिना रहेको जनाएको छ, जहाँ तापक्रम औद्योगिक युगअघिको स्तरभन्दा करिब १ दशमलव ४८ डिग्री सेल्सियस बढी रहेको छ । युरोपका धेरै भागमा सामान्यभन्दा बढी तापक्रम देखिएको थियो भने अमेरिका, आर्कटिक र अन्य चिसा क्षेत्रहरूमा पनि असामान्य रूपमा उच्च तापक्रम मापन गरिएको छ ।

अर्कोतर्फ, आर्कटिक क्षेत्रमा समुद्री बरफको मात्रा उक्त महिनाका लागि सबैभन्दा कम रहेको पाइएको छ, जसलाई जलवायु परिवर्तनको महत्वपूर्ण सङ्केतका रूपमा लिइन्छ । -रासस/एएफपी

प्रतिक्रिया