कर्णालीमा नयाँ शैक्षिकसत्रअगावै पाठ्यपुस्तक व्यवस्थापन गरिँदै

नेपालखोज २०८२ चैत २७ गते २०:३१

जुम्ला । कर्णाली प्रदेशका सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिकसत्रअगावै पाठ्यपुस्तक व्यवस्थापन गरिसक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले जनाएको छ ।

सरकारले देशभर नयाँ शैक्षिकसत्र आगामी वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिसकेकाले प्रदेशमा पाठ्यपुस्तक बिक्रीवितरणका लागि सम्बन्धित जिल्लामा पाठ्यपुस्तक पठाउन थालिएको केन्द्रले जनाएको हो ।

यसैबीच जुम्लामा यो वर्ष नयाँ शैक्षिकसत्रअगावै पाठ्यपुस्तक पुगेको छ । यस वर्ष पनि शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारस्थित सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।

उनले भने, ‘कक्षा १-१० सम्मको ५००/५०० प्रतिथान पाठ्यपुस्तक आइपुगेको छ । यहाँका सामुदायिक विद्यालयलाई आवश्यक सबै पाठ्यपुस्तक उपलब्ध गराउने छौँ ।’ विद्यालयको मागअनुसार बाँकी पाठ्यपुस्तक सम्बन्धित जिल्लामा पु¥याइने खड्काले बताए । विद्यालय नियमित सञ्चालन हुन थालेपछि पाठ्यपुस्तक लिनेको सङ्ख्या बढ्ने उनले बताए ।

यहाँका सामुदायिक विद्यालयलाई जिपी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री गर्दै आएका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका अनुसार जिल्लाभर करिब एक सय ४५ सामुदायिक विद्यालय छन् ।

प्रतिक्रिया