दुई दिन बिदाले प्रभावित हुनसक्ने भन्दै स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको आग्रह

काठमाडौं । नेपाल सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा बिरामीलाई कुनै असहजता नहोस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
यसअनुसार मन्त्रालयको अनुरोधपछि अधिकांश अस्पतालहरूले बिदाको दिनमा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गरिरहेका भन्दै मन्त्रालयले धन्यवाद पनि व्यक्त गरेको छ ।
विज्ञप्तिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थाबाट प्राप्त गुनासोप्रति मन्त्रालय जानकार रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि मन्त्रालय सकारात्मक र प्रतिबद्ध रहेको जनाएको छ ।
नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयलाई ध्यानमा राख्दै सेवा निरन्तरता दिनु सबैको प्रमुख दायित्व भएको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयले सम्बन्धित सबै सरोकार भएकाहरूसँग समन्वय गरी स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि तयार पार्ने प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।
उक्त कार्यविधि कार्यान्वयनमा नआउँदासम्म अस्पतालहरूले उपलब्ध जनशक्ति र स्रोतका आधारमा सेवा सञ्चालन गर्न अनुरोध गरिएको छ ।
मन्त्रालयले सम्पूर्ण सरोकार भएकाहरूबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीबाट निरन्तर सहकार्य र समन्वयको अपेक्षा गरेको छ । -रासस

प्रतिक्रिया