म्यानमारकी पूर्व राष्ट्रपति मिन्टलाई आममाफी, नेतृ सुकीको सजाय कटौती

नेपालखोज २०८३ वैशाख ४ गते १८:४४

याङ्गुन । सन् २०२१ को सैन्य विद्रोहपछि पक्राउ परेका म्यानमारका पूर्व राष्ट्रपति विन मिन्टलाई शुक्रबार सामूहिक आममाफीअन्तर्गत रिहा गरिएको छ । त्यसैगरी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको सजायँ पनि घटाएको उनको निकट स्रोतले जनाएको छ ।

मिन्ट र ८० वर्षीया नोबेल शान्ति पुरस्कार विजेता सुकीले एक दशक लामो नागरिक शासनको प्रयोगमा म्यानमारको नेतृत्व गरेका थिए । सन् २०१८ देखि सेवा गरेका पूर्व राष्ट्रपतिलाई सैन्य शासनपछि सजाय सुनाइएको र शुक्रबार रिहा गरिएको उनको पार्टीका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी गराएका छन् । यसैबीच, सुकीलाई हिरासतमा राखिएको छ ।

अधिकारवादी समूहहरूले उनको नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीलाई कमजोर पार्ने राजनीतिक रूपमा प्रेरित मुद्दामा सुकीलाई हिरासतमा राखिएको भए पनि उहाँको सजाय कटौती गरिएको सुकी निकट स्रोतले जनाएको छ ।

सुरक्षाका कारण नाम नबताउने सर्तमा नेतृ सुकीको कानुनी मुद्दासँग निकट एक स्रोतले एएफपीसँग भन्यो, ‘सुकीको २७ वर्षको जेल सजाय आममाफीको एक हिस्साका रूपमा काटिएको हो ।’ स्रोतका अनुसार सुकीको सरकारलाई अपदस्थ गर्ने र गत हप्ता नागरिक राष्ट्रपतिको रूपमा शपथ लिने ‘कु’ पक्षधर नेता मिन आङ ह्लाइङले घोषणा गरेको ४० वर्षभन्दा कम सजायको बाँकी अवधिलाई छ भागको एक भाग घटाउने सामुहिक आममाफीको आदेश अन्तर्गत नेतृ सुकीको सजाय कटौती लागू हुन्छ ।

रूपान्तरण आदेशअघि उनले कति जेल सजाय भुक्तानी गरेका थिए भन्ने बिषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन ।

–बिना सर्त रिहा गरिनुपर्ने– संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले ’कू’ पछि अन्यायपूर्ण रूपमा पक्राउ परेका सबैलाई तत्काल र बिना सर्त रिहा गरिनु पर्ने बताएका छन् । मिन्टले राष्ट्रपतिको रूपमा तत्कालिन सरकार प्रमुख सुकीको नेतृत्वमा संवैधानिक भूमिकामा जिम्मेवारी सम्हाल्नुसभएको थियो जसलाई सैन्य मस्यौदा संविधान अन्तर्गत शीर्ष पद धारण गर्न प्रतिबन्ध लगाइएको थियो । वर्तमानु राष्ट्रपति ह्लाइङको कार्यालयले जारी गरेको आधिकारिक वक्तव्यमा उनले मिन्टलाई माफी दिएको उल्लेख गरिएको छ, जसलाई सुकीजस्तै धेरै अपराधमा दोषी ठहर गरिएको थियो । -रासस/एएफपी

प्रतिक्रिया