इलाम गोल्डकप : रोलिङ धुलाबारी सेमिफाइनलमा

नेपालखोज २०८३ वैशाख ६ गते १९:५७

मङ्गलबारे (इलाम) । इलाम गोल्डकपको दोस्रो दिनको खेलमा रोलिङ क्लब धुलाबारी झापाले फिदिम स्पोर्टिङलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । रोलिङ क्लबका तर्फबाट प्रतापसिंह राईले मध्यान्तर अगाडिको २४औँ मिनेटमा पहिलो गोल गरे । लगत्तै उक्त टोलीका निरज कार्कीले २५औँ मिनेटमा दोस्रो गोल गरे ।

मध्यान्तर पछाडि सुरुमै अरुण मेचेले फिदिम स्पोर्टिङविरुद्ध तेस्रो गोल गरे । फिदिम स्पोर्टिङ पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा ३–० गोलअन्तरले पराजित हुन पुग्यो ।

खेलको ‘म्यान अफ दी म्याच’ रोलिङ क्लबका प्रतापसिंह राई घोषित भए । उनले रु आठ हजार पुरस्कार पाए । सोमबार एन पेनाङ मलेसिया र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ ।

यही वैशाख १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।

प्रतिक्रिया