मध्यपूर्व संकट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

नेपालखोज २०८३ वैशाख १२ गते १५:१७

निकोसिया । युरोपेली संघका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसको स्थायी र दीर्घकालीन समाधानका लागि कूटनीतिक प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

साइप्रसमा सम्पन्न एक महत्वपूर्ण बैठकपछि उर्सुला फन डेर लेयेनले वर्तमान अवस्थालाई केवल अस्थायी रूपमा शान्त पार्ने प्रयास पर्याप्त नभएको स्पष्ट पार्दै दीर्घकालीन शान्ति स्थापना नै सबैको साझा लक्ष्य हुनुपर्ने बताए । उनले विशेष गरी हर्मुज जलडमरूमध्यको महत्व उल्लेख गर्दै यस जलमार्गमा बिना कुनै अवरोध र अतिरिक्त शुल्क जहाजहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उक्त जलमार्ग विश्व व्यापार तथा ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्तै संवेदनशील र महत्वपूर्ण भएकाले यसको निर्बाध सञ्चालन सम्पूर्ण विश्वको हितमा रहेको उनको धारणा थियो । यसै सन्दर्भमा एन्टोनियो कोस्टाले पनि द्वन्द्वका कारण मानव जीवन, भौतिक संरचना तथा विश्व अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव परेको उल्लेख गरे ।

उनले प्रत्येक दिन समाधानबिना बित्दै जाँदा परिस्थिति अझ जटिल बन्दै गएको बताउँदै तत्काल र प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिए । साथै, हर्मुज जलडमरूमध्यलाई तुरुन्तै पूर्ण रूपमा खुला गरिनुपर्ने र यसको स्वतन्त्र प्रयोग सुनिश्चित गरिनुपर्ने उहाँको स्पष्ट अभिव्यक्ति थियो ।

त्यसैगरी, नेताहरूले लेबनानको वर्तमान अवस्थाबारे पनि विशेष चिन्ता व्यक्त गरेका छन् । लेबनानको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पूर्ण सम्मान गर्दै त्यहाँ स्थायित्व र शान्ति कायम गर्न निरन्तर कूटनीतिक प्रयास आवश्यक रहेको उनीहरूको धारणा थियो । –रासस/सिन्ह्वा

प्रतिक्रिया