मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

वासिङ्टन । अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् ।
अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ ।
यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी तेल आपूर्तिमा असर पारेको छ । विशेषगरी इन्धन र ऊर्जा मूल्य बढ्दा अमेरिकामा उत्पादन लागत, यातायात खर्च र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत वृद्धि भएको छ, जसले मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ ।
हाल अमेरिकामा मुद्रास्फीति ३.३ प्रतिशत पुगेको छ, जुन पछिल्ला करिब दुई वर्षको उच्च स्तर मानिन्छ । फेडरल रिजर्भको मुख्य उद्देश्य मूल्य स्थिरता कायम राख्नु र रोजगारी बजारलाई सन्तुलनमा राख्नु हो ।
तर अहिलेको अवस्थामा यी दुई लक्ष्यबीच सन्तुलन मिलाउन कठिन भइरहेको छ, किनकि एकातिर महँगी नियन्त्रण गर्न कडा मौद्रिक नीति आवश्यक छ भने अर्कोतर्फ आर्थिक वृद्धि र रोजगारीलाई असर नपर्ने गरी नीति बनाउनुपर्ने दबाब छ । रासस/एएफपी

प्रतिक्रिया