अमेरिकाले प्रतिनिधिमण्डलको यात्रा रद्द गरेपनि इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने सम्भावना

इस्लामावाद, पाकिस्तान । अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले शान्ति वार्तालाई सही दिशामा ल्याउने प्रयास गरिरहेका बेला इरानका विदेशमन्त्री आइतवार पुनः पाकिस्तान फर्कने कार्यक्रम रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूतहरूको प्रस्तावित भ्रमण रद्द गरे पनि विदेशमन्त्री आइतवार पुनः पाकिस्तान जानसक्ने इरानी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी बताएका छन् ।
इरानी समाचार एजेन्सी इस्ना (आइएसएनए) का अनुसार विदेशमन्त्री अब्बास अराघचीले फेरि पाकिस्तानी अधिकारीहरूलाई भेट्नेछन् र ‘युद्ध पूर्ण रूपमा अन्त्य गर्ने कुनै पनि समझदारीको ढाँचामा इरानको स्थिति र विचारहरू’ व्यक्त गर्नेछन् ।
इस्नाका अनुसार मन्त्री अघिल्लो दिन मात्र इस्लामाबादमा पुगी त्यहाँका उच्च पदस्थ अधिकारीसँग स्थायी युद्धविराम र शान्तिका लागि आफ्नो तर्फबाट धारणा राख्नुभएको थियो भने मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्ताव गर्नेछन् ।
त्यसपछि उनी इस्लामावादबाट पहिले नै तय गरिएको ओमानका लागि प्रस्थान गरेका थिए । अन्य इरानी दूतहरू ‘युद्ध अन्त्यसँग सम्बन्धित मुद्दाहरूमा परामर्श र आवश्यक निर्देशनहरू प्राप्त गर्न’ तेहरान फर्किएका थिए ।
मस्कटका लागि उड्नुअघि उनले शनिबार पाकिस्तानी सेना प्रमुख असिम मुनिर, प्रधानमन्त्री शहबाज सरिफ र विदेशमन्त्री इशाक दारसँग भेटवार्ता गरेका थिए । इस्लामावादमा हुने वार्तापछि उहाँ मस्को जाने अपेक्षा गरिएको छ ।
अराघचीले आफ्नो प्रारम्भिक पाकिस्तान भ्रमणलाई ‘धेरै फलदायी’ भन्नुभएको छ तर वाशिङ्गटनको मनसायमा शङ्का व्यक्त गरे । –रासस/एएफपी

प्रतिक्रिया