स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

गण्डकी । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपांगता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ ।
जसमा अपांगता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन् ।
जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिए ।
‘प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१/८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बिमा भएको हो’, उनले भने, ‘अपांगता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बिमाको सुविधा पाइरहनुभएको छ ।’
गण्डकी प्रदेशका एक लाख ६१ हजार ९३५ ज्येष्ठ नागरिक, दुई हजार ३११ एचआइभी संक्रमितको परिवार, अतिअशक्त अपांगता भएका पाँच हजार ६३० परिवार, कुष्ठरोग संक्रमितका ९० परिवार, क्षयरोग संक्रमितका ५७ परिवार र चार हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बिमामा आबद्ध छन् ।
प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको संयोजक खरेलले बताए । यो प्रदेशको कुल परिवार संख्यामध्ये ६७.०१ प्रतिशत हो ।
गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बिमा गरिएको हो । जनसंख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको जनाइएको छ । कुल बीमितमध्ये सेवा लिनेको संख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४.०४ प्रतिशत रहेको छ । रासस

प्रतिक्रिया