पत्रकारिता क्षेत्रको मर्यादिकरणका लागि फेक न्युज भेरिफिकेशन मेकानिजमको आवश्यकता

नेपालको पत्रकारिता क्षेत्र पछिल्लो दशकमा तीव्र परिवर्तनको चरणमा छ। कर्पोरेट हाउसहरूको बढ्दो लगानी, राजनीतिक दलहरूको साँठगाँठ, र व्यक्तिगत हितमा सञ्चालित मिडियाले पत्रकारिताको मूलभूत मूल्य र मान्यतालाई नै चुनौती दिएको छ। पत्रकारहरूको अस्वाभाविक आर्थिक हैसियत, बार्गेनिङ गर्ने प्रवृत्ति, स्थिर सम्पतिको अपुष्ट श्रोत, तथा कर्पोरेट इन्ट्रेस्टमा लेख प्रकाशित गरी कमाउने प्रवृत्तिले गर्दा पत्रकारिताको विश्वसनीयतालाई कमजोर बनाएको छ। यसले समाजमा भ्रम फैलाउने, राजनीतिक ध्रुवीकरण बढाउने, र राज्यको साखलाई लाई अन्तर्राष्ट्रिय स्तरमा हानी पुर्याउने अवस्था समेत सिर्जना गरेको छ।
विशेष गरेर समाजमा विश्वसनीयता कायम गर्न तथा साँच्चिकै चौथो राज्यको प्रत्याभूति दिलाउन तथ्यमा आधारित समाचार मात्र प्रकाशन गर्ने, अमुक राजनीतिक दल वा गठ जोडको प्रचार तथा संरक्षणको उपकरण बन्न नदिने, लगानीकर्ताको दबाबमा समाचारको दिशा परिवर्तन नगर्ने तथा जनताको हितमा केन्द्रित भई समाजलाई सु-सूचित, शिक्षित र सशक्त बनाउने उद्देश्यमा पत्रकारिता सञ्चालन हुनुपर्ने हो ।
यस क्षेत्रलाई मर्यादित बनाउन नियामक निकायलाई पुनर्संरचना तथा सुदृढीकरण गरी थप अधिकार र स्वतन्त्रता दिइनु पर्दछ।पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने मिडिया/ मिडियाकर्मीलाई वास्तवमा नै दण्डित गर्ने व्यवस्था गर्नु पर्दछ। पारदर्शी लगानी संरचनाका निमित्त मिडियामा लगानी गरेको स्रोत सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गरी कर्पोरेट वा राजनीतिक हितमा सञ्चालित मिडियालाई स्पष्ट रूपमा चिनाउने डिजिटल पहिचान दिइनु पर्दछ । पत्रकारको पेसागत सुरक्षाको लागि तथा आर्थिक दबाबका कारण समाचारको विश्वसनीयता कमजोर नहोस् भन्ने सुनिश्चितता गर्न उचित पारिश्रमिक र सामाजिक सुरक्षा प्रदान गरिनु पर्दछ ।
पत्रकारिता शिक्षामा तथ्य-जाँच (fact-checking), डिजिटल साक्षरता, र नैतिकता जस्ता विषय अनिवार्य बनाइ शैक्षिक सामाग्रीमा सुधार गरिनु पर्दछ । अनियन्त्रित अनुमति तथा सामाजिक सञ्जालको आफूखुसी प्रयोग गरी समाचार वाचन गर्ने र रिल, इन्स्टाग्राम, फेसबुक, युट्युब जस्ता अनगिन्ती सामाजिक सञ्जालको प्रयोग गरी खुलेआम फेक न्युज फैलाइँदै समाजलाई विषाक्त बनाई रहेकोले यसको आधिकारिक भेरिफिकेशन मेकानिजम तयार गर्न ढिलो भई सकेको छ ।
यसरी निर्बाध रूपमा प्रसार भई रहेका फेक न्युज नियन्त्रणका लागि प्रत्येक मिडिया संस्थामा वा विभिन्न मिडियाले मिलेर वा नियामक द्वारा “नेपाल फ्याक्ट-चेक नेटवर्क” ( Fact-Checking Units) स्थापना गराउन सकिन्छ । साथै सामाजिक सञ्जालमा भाइरल हुने वा विवादास्पद समाचारलाई सामूहिक रूपमा सत्यापन गर्ने गराउने पद्धतिको विकास गरिनु पर्दछ ।
यसका साथै प्रविधि प्रयोग गरी AIमा आधारित भेरिफिकेशन टुल प्रयोग गरेर स्रोत, तस्बिर, भिडियोको प्रामाणिकता जाँच गर्ने, ब्लकचेन प्रविधि प्रयोग गरेर समाचारको स्रोत सुरक्षित राख्ने, नागरिकलाई फेक न्युज पहिचान गर्ने तालिम र अभियान सञ्चालन गरी “भेरिफाइ नगरी विश्वास नगर्ने” जस्ता संस्कार विकास गरिनु पर्दछ। नेपालमा पत्रकारिता मर्यादित बनाउन कानुनी, संस्थागत, शैक्षिक र प्रविधिगत सुधार अपरिहार्य छ। पारदर्शिता, निष्पक्षता, र तथ्यमा आधारित पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड हो। कर्पोरेट र राजनीतिक हितमा सञ्चालित मिडियाले समाजलाई भ्रमित बनाउने प्रवृत्ति रोक्न सकिएन भने पत्रकारिताको मूल्य र मान्यता नै हराउनेछ।
विश्वका विभिन्न देशहरूले फेक न्युज नियन्त्रणका लागि फरक–फरक मेकानिजम अपनाएका छन्। जर्मनीले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने सामग्रीलाई हटाउन कानुनी व्यवस्था गरेको छ ।भारतमा तथ्य-जाँच गर्ने स्वतन्त्र निकायहरू सक्रिय छन् ।साथै अमेरिकामा विश्वविद्यालय र अनुसन्धान संस्थाले तथ्य-जाँच प्लेटफर्म सञ्चालन। नेपालले यी अनुभवबाट सिकेर आफ्नै सन्दर्भ अनुसारको प्रणाली विकास गर्नु पर्दछ।
निष्कर्ष
नेपालमा पत्रकारिता मर्यादित बनाउन कानुनी, संस्थागत, शैक्षिक र प्रविधिगत सुधार अपरिहार्य छ। कर्पोरेट र राजनीतिक हितमा सञ्चालित मिडियाले समाजलाई भ्रमित बनाउने प्रवृत्ति रोक्न सकिएन भने पत्रकारिताको मूलभूत मूल्य र मान्यता नै हराउनेछ। त्यसैले, पारदर्शिता, निष्पक्षता, र तथ्यमा आधारित पत्रकारिता नै लोकतन्त्रको मेरुदण्ड हो।

प्रतिक्रिया