एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

चितवन । आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले ११ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । केन्द्रले गत आर्थिक वर्षमा नौ प्रकारका औषधि उत्पादन गर्दै आएकामा यस वर्ष थप दुई प्रकारका औषधि उत्पादन गरेको हो ।
औषधि व्यवस्था विभागबाट २० प्रकारका औषधि उत्पादन गर्ने अनुमति प्राप्त गरेको भए पनि अहिले ११ वटा मात्रै उत्पादन गर्दै आएको केन्द्रका प्रमुख डा सुरेश महर्जनले जानकारी दिए ।
उनका अनुसार अहिले उत्पादन हुँदै आएकामा चूर्ण (धुलो) औषधि हुन् । केन्द्रले अब ट्याब्लेटमा औषधि उत्पादन गर्दैछ । पहिलो पटक नौ प्रकारका ट्याब्लेट औषधि उत्पादनका लागि अनुमति लिएर काम सुरु गरेको उनले बताए । उनले भने, ‘पहिलो पटक हामी ट्याब्लेट औषधि उत्पादन गर्ने प्रक्रियामा रहेका छौँ ।’
केन्द्रले अहिले अश्वगन्धा चूर्ण ५० ग्राम र १०० ग्राम, अविपतिकर चूर्ण ५० ग्रम, महासुदर्शन चूर्ण ५० ग्राम, निमबादी चूर्ण ५० ग्राम, पुस्यानुग चूर्ण ५० ग्राम, त्रिफला चूर्ण ५० ग्राम, सीतोपलादी चूर्ण ५० ग्राम, आमलकी चूर्ण १०० ग्राम, बिल्वादी चूर्ण ५० ग्राम, हिङ्गबास्टक चूर्ण ५० ग्राम रहेका छन् ।
यस्तै, खदिरादी वटी, सर्पगन्धाघन वटी, गन्धक रसायन, चन्द्रप्रभा वटी, मटाशङ्ख वटी, रजप्रवर्तिनी वटी, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, कैशोर गुग्गुलु ट्याब्लेट उत्पादनको तयारीमा रहेको उनले जानकारी दिए । बागमती प्रदेश सरकारको अनुमति र सङ्घीय सरकारको मापदण्डमा रहेर औषधि उत्पादन गर्दै आएको उहाँले जानकारी दिए ।
अहिले केन्द्रले २३ औषधि उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । उहाँका अनुसार केन्द्रले प्रदेश सरकारबाट ११९ औषधि उत्पादनका अनुमति पाइसकेको छ ।
सरकारले प्राथमिकतामा राखेका २३ औषधि उत्पादन गर्ने तयारी गरिरहेको उनले बताए । सरकारले अत्यावश्यकभित्र राखेका औषधि उत्पादन गरेर निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ ।
सरकारले जारी गरेको कुशल औषधि उत्पादन अभ्यास निर्देशिका २०८२ अनुसार औषधि उत्पादन र सिफारिस गरिएको उनले बताए । बागमती प्रदेशभित्र रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि पु¥याउने गरी काम गरिएको उहाँले जानकारी दिए ।

प्रतिक्रिया