नौ महिनामा मुलुकको अर्थतन्त्र : दुई खर्ब २२ अर्बको निर्यात, १४ खर्ब ९० अर्बको आयात, १२ खर्ब ६७ अर्ब घाटा

काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनकाकारण मुलुकको बैदेशिक व्यापार घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनि गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको नौं महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात १८ दशमलव पाँच प्रतिशतले बढेर २२ खर्ब २२ अर्ब ९४ करोड पुगेपनि आयात उच्च हुंदा व्यापार घाटा बढेको हो ।
प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६५ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २२ दशमलव छ प्रतिशत र पाँच दशमलव एक प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४६ दशमलव आठ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२÷८३ को नौ महिनामा कुल वस्तु आयात १३ दशमलव आठ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव आठ प्रतिशत, २१ दशमलव तीन प्रतिशत र २४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा रासायनिक मल, भटमासको कच्चा तेल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, दाल, एम.एस.विलेटलगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दशमलव चार प्रतिशतले वृद्धि भएकोे थियो ।
समीक्षा अवधिमा निर्यात आयात अनुपात १५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४ दशमलव चार प्रतिशत रहेको थियो ।

प्रतिक्रिया