हालसम्म २२० बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल
एक सय ६६ वटा संस्थाको ईजाजत खारेज भई ५४ वटा संस्थामा सिमित

काठमाडौं । नेपालमा हालसम्म दुुई सय २० वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् २०७८ बैशाख मसान्तसम्म कुल दुई सय २० बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भएका हुन् ।
यसमध्ये एक सय ६६ संस्थाहरुको इजाजत खारेज हुन गई ५४ संस्था कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसैगरी राष्ट्र बैंकले कुल सात सय ५३ स्थानीय तहमध्ये २०७८ बैशाखसम्म सात सय ५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएको जानकारी दिएको छ ।
२०७७ बैशाखसम्म सात सय ४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । यस अवधिमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ बैशाख मसान्तमा एक सय ३८ रहेको छ ।
यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तसम्ममा नौ हजार सात सय ६५ रहेकोमा २०७८ बैशाख मसान्तमा १० हजार पाँच सय ९८ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया