नजिकको बागबानी ओझेलमा, यस्तो छ कारण !(भिडियो रिपोर्ट)

काठमाडौं । धेरैलाई थाहा छैन होला काठमाडौं उपत्यका भित्र फलफुलको ठुलो बागवानी छ भनेर । काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर नगरपालिकामा रहेको समशीतोष्ण बागवानी केन्द्र नजिकै भएर पनि ओझेलमा छ ।
२०१९ सालमा जापान सरकारको सहयोगमा स्थापना भएको समशितोष्ण बागवानी केन्द्र धेरै सम्भावना भएर पनि खुम्चेर बसेको छ । नेपालको मध्यपहाडमा हुने सबै प्रकारका फलफूलको प्रसारका लागि बीउ, बेर्ना, विरुवा, उत्पादन गर्ने भए पनि सरकारको प्राथमिकतामा क्रमश: खुम्चँदो छ । अंगुर, नासपाती, आरु, किबी, एभाकाडो, हलुवावेद, अम्बा, बयर तथा सुन्तला जातका फलफूलको ५० भन्दा बढी जातका फलफूलको बिरुवा केन्द्रले उत्पादन गर्दै आएको छ । यस केन्द्रमा उत्पादन हुने जापनिज नासपाति र वाइनका लागि राम्रो मानिएको स्टुवेन अंगुर विशेष छन् ।

यस्तै यो केन्द्रले मुख्यगरी बिरुवा उत्पादन गरेर कृषक तथा व्यवसायीहरुलाई बिक्री वितरण गर्दै आएको केन्द्रकी सूचना अधिकारी सरिता गौतमले बताइन् । यति धेरै सम्भावना र महत्त्व भएको बागवानी केन्द्र अहिले अतिक्रमणमा परेको छ । स्थापनाकालमा करिब ४०० रोपनीमा फैलिएको यो केन्द्र सरकारी निकायको कार्यालय, सडकलगायतले क्रमशः अतिक्रमण गर्दै गएका छन् ।
काठमाडौं उपत्यकानजिक रहेको ठूलो क्षेत्रफलमा सबैको आँखा जानु स्वभाविक हो । ४ सय रोपनीमा फैलिएको यो बागवानी केन्द्र अहिले २७५ रोपनीमा खुम्चन पुगेको छ । सरकारले यसको महत्त्वलाई नबुझ्ने र प्राथमिकतामा नराख्ने हो भने खुम्चिएर सकिन बेर लाग्दैन ।

काठमाडौंलगायत मध्यपहाडी क्षेत्रमा समशीतोष्ण जलवायुमा उपयुक्त हुने फलफूलको बिरुवा उत्पादन गर्न यो केन्द्रको प्रचार–प्रसार र क्षमता वृद्धि गर्न आवश्यक छ । बजारको अभाव नभएको तर मागअनुसार उत्पादन दिन नसकिएको यो समयमा यस्ता बागबानी केन्द्रको भूमिका अहम् हुन्छ । खुम्चँदो केन्द्रमा सरकारको सकारात्मक दृष्टि समयमै जाओस् ।
प्रतिक्रिया