बुधबार, असार ११, २०८२

मोटरसाइकल आयात ६० प्रतिशतले बढ्यो

नेपालखोज २०७८ असार ११ गते ७:४०

काठमाडौं । अघिल्लो वर्षको बन्दाबन्दीयता मोटरसाइकल तथा स्कुटरको आयात बढ्दै गएको छ । कोरोनाले अन्य थुप्रै व्यवसाय धराशयी भए पनि मोटरसाइकलको आयात भने बन्दाबन्दी खुलेपछि गतवर्षको साउनदेखि बढ्दै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महिनामा मोटरसाइकलको आयात ६० प्रतिशतले बढेको समाचार आर्थिक अभियान दैनिकमा छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल २ लाख २ हजार ५६२ वटा मोटरसाइकल आयात भएकोमा यस वर्ष आयात वृद्धि भई ३ लाख २३ हजार ४६० पुगेको छ । यस अवधिमा मोटरसाइकल आयातका लागि कुल रू. ३० अर्ब बाहिरिएको छ । अघिल्लो वर्ष नेपालमा १८ अर्ब २४ करोड रुपैयाँको मोटरसाइकल आयात भएको थियो ।

२०७६ चैत दोस्रो सातादेखि सरकारले नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि बन्दाबन्दी गरेको थियो । ३ महिना लामो बन्दाबन्दी असारबाट खुकुलो भएकामा साउनदेखि नै दुईपांग्रे सवारीको आयात बढ्दै गएको थियो ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोरोना संक्रमणपछि निजी सवारीसाधनप्रतिको आकर्षण थप बढेको छ । ‘तथ्यांकले भने जस्तो त्यति ठूलो संख्यामा सवारी बढेको हो कि होइन भनेर हेर्नैपर्छ तर निजी सवारीको माग भने बढ्दै गएको छ,’ उनले भने, ‘बजेटपछि चारपांग्रे सवारीको माग पनि बढ्दो देखिएको छ ।’

प्रतिक्रिया